महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ।
प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिएका थिए।
छलफलमा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिलामन्त्री थापाले कुनै पनि कारणले भविष्यमा प्रदेशसभाबाट बजेट पारित हुन नसकेर बजेट शून्यताको अवस्था हुन नदिन यो विधेयक ल्याउनुपरेको बताए।
यो विधेयक पारित भएसँगै प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व सङ्कलन गरी सेवा सञ्चालन गर्न पाउने कानुनी बाटो खुलेको छ। गएको साउन २९ गतेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ लाई स्वीकृत गरेको थियो।
तत्कालीन सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुननसक्दा आर्थिक वर्ष २०८१र८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व सङ्कलन लगायतको काम यो अध्यादेश जारी भएसँगै सञ्चालन आएको थियो।
सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले सोमबार चालु आर्थिक वर्ष२०८१र८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेको छ।
ँ