महेन्दनगर । पूर्व पश्चिम राजमार्गको सुडामा स्कुटर दुर्घटनामा परी ज्यान गुमाएका भीमदत्त नगरपालिका १५ गोबरैयाका भुवन भट्टको सम्झनामा मदनचोकमा दिप प्रज्वलन गरिएको छ ।
स्वर्गिय भट्टका साथीहरुले मंगलबार साँझ मदनचोकमा भट्टको सम्झनामा दिप प्रज्वलन गरेका हुन् ।
बेदकोट नगरपालिका–७ सुडामा सुदूरपश्चिम प्रदेश ०१००८ प ४०७७ नम्बरको स्कुटर शनिवार दुर्घटना हुँदा पछाडि सवार २३ वर्षीय भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।


दुर्घटनामा स्कुटर चालक सोही ठाउँका २४ वर्षीय खेम भट्ट घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर आफै अनियन्त्रित भई खोलामा खसेको प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ड गत असार तेस्रो साता आएको बाढीले भत्किएको थियो । त्यहाँ कल्भर्ड अझै बनेको छैन । नजिकै डाइभर्ट गरेर सवारी साधन आवागमन गर्ने गरिएको छ । स्कुटर राजमार्गबाट सीधै कल्भर्डमा हुत्तिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गत असार अन्तिम साताको भीषण वर्षासँगै आएको बाढीले रामार्गको कल्भर्ट भत्काएको थियो । एक सातापछि सडक डिभिजन कार्यालयले डाइभर्सन बनाएर राजामार्गमा यातायात सञ्चालन गरिएको थियो ।
सुडामा मात्रै होइन, बाढीले भीमदत्त नगरपालिका–६ ऐठपुरमा भत्काएको कल्भर्ट पनि पुन निर्माण हुन सकेको छैन । सडकको बीचमा रहेको कल्भर्ट भत्किएपछि दायाँ र बायाँबाट आउजाउ भइरहेको छ ।
