काठमाडौँ । विवादित छविका नेपाल प्रहरीका एक एसपी प्रहरी प्रधान कार्यालय ९नक्साल० तानिएका छन्। एसपी कमल थापा नक्साल तानिएका हुन्।
नक्साल स्रोतले उनलाई छानबिनका क्रममा कारबाहीस्वरुप तानिएको जनायो। अख्तियारको केन्द्रिय कार्यालयमा कार्यरत थापा तानिएको र अहिले उनको स्थानामा भने नयाँ एसपी आइनसकेको अख्तियार प्रहरी प्रमुख डीआईजी बुद्दिराज गुरुङले बताए।
एसपी थापा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्नामा जोडिएका थिए। सोही आरोपमा अहिले छानबिन जारी छ।
ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर बिनुकुमारेर शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी अहिले फरार छिन्। उनी यस अगाडि गृहमन्त्रालयबाट निलम्बित पनि भएकी थिइन्।
यस्तै एसपी थापाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दिपेन्द्र जिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। जिसी महिला बालबालिका सेवा निर्देशनालयमा कार्यरत छन्।
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन्। सो उजुरीको आधारमा इन्स्पेक्टर शाहीले ललितपुरको लुभु बस्ने घरजग्गा व्यवसायीलाई बोलाएर छलफल गराएकी हुन्।
ती व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दारसहित ४ जना थुनामा छन्।
थुनामा हुनेमा सुस्मा विक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवल्दार महेन्द्र हमाल छन्। सहायक हवल्दार इन्स्पेक्टर शाहीको सवारी चालक हुन्। घट्नामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन्। उनीहरुविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ।
ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।
‘हनिट्रयाप’का मुख्य योजनाकार ताज मुल इस्लाम एसपी थापासँग परिचित थिए। थापाको सिफारिसका आधारमा इन्स्पेक्टर शाहीले व्यवसायीलाई दबाब दिएर रकम असुलेको प्रारम्भिक छानबिन निष्कर्ष छ।
यसअघि जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले एसपी थापालाई पनि छानबिनको दायरामा ल्याउन सिफारिस गरेको थियो। सो छानबिन प्रतिवेदन प्रधान कार्यालयले झिकाएको छ।
उता ललितपुर प्रहरीले इन्सपेक्टर शाहीलाई पक्राउ गर्न खोजतलास गरिरहेको पनि जनाएको छ। यद्यपि उनले पक्राउ रोक्न शक्तिकेन्द्रमार्फत दबाब दिइरहेकी छन्।
उनीविरुद्ध दसैं अगाडि नै पुर्जी जारी भएपनि अझै पक्राउ नगर्नुले कतै प्रहरी नेतृत्व उनलाई जोगाउन लागिपरेको त छैन भन्ने प्रश्न समेत उठेको छ।
साभार महेन्द्रनगरपोष्ट