महेन्द्रनगर । बैतडीमा प्रहरी चौकीबाट गाउँमा असुरक्षा बढेको भन्दै स्थानीय र जनप्रतिनिधिले प्रहरी चौकी सार्नुपर्ने माग गरेका
छन् ।
प्रहरी चौकी सार्न जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रशासनमा बुझाएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । किशोरी बेपत्तामा प्रहरीको संलग्नता रहेको स्थानीयले आरोप लगाएपछि प्रहरी चौकीमा कार्यरत सबै प्रहरी फेरिएका छन् ।
पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हिरासतमा छन् । हवल्दार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए ।
किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरी हवल्दारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको उनले बताए । गत असोज २५ गते बिहान प्रहरी हवल्दारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले आरोप लगाउँदै आएका छन् । हवल्दार जोशीको मोबाइल फोनमा किशोरीसँग अँगालो हालेका तस्बिरसमेत भेटिएको प्रहरीले जनाएको छ ।
किशोरी बेपत्ता भएकै दिन स्थानीयले प्रहरी हवल्दार जोशीलाई महाकाली नदी तरेर भाग्दै गरेको अवस्थामा दाम्लोले बाँधेर प्रहरी चौकीमा बुझाएका थिए । तर किशोरीको अवस्था अझै अज्ञात छ ।
आरोपित जोशीले असोज २५ गते बिहान किशोरीसँग भेट भएको स्वीकार गरे पनि त्यसपछिको अवस्थाबारे आफूलाई थाहा नभएको प्रहरी समक्ष बयान दिएका छन्। तर किशोरीका आफन्तले भने किशोरी बेपत्तामा जोशीकै संलग्नता रहेको दाबी गर्दै आएका छन् ।
प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष पेस गरिसकेका छन् । प्रहरी हवल्दार जोशीले आफू विवाहित रहेको र पारिवारिक व्यवस्थापनका लागि केही दिन लाग्ने बताएपछि किशोरी पानी भर्न जान्छु भनेर हिँडेको र उतैबाट बेपत्ता भएको जोशीले प्रहरीसमक्ष बयान दिएको खुलेको छ ।
किशोरीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली पञ्चेश्वर लगायतका स्थानमा खटिएको छ ।
