महेन्द्रनगर । बैतडीकी हिमश्वेता भट्टले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल भएकी छन् । बागमती प्रदेश लोक सेवा आयोगले लिएको कृषि अधिकृत सातौँ तहको परीक्षामा उहाँ पहिलो पटक सहभागी भएकी हुन् ।
दशरथ चन्द नगरपालिका–५, नौहाट घरभएकी हिमश्वेता कृषि तथा वन विज्ञान क्याम्पस रामपुरबाट कृषि विषयमा स्नातक तह हुन् । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन गरिरहेकै बेला बागमती प्रदेश लोक सेवा आयोगले दरखास्त आह्वान गरेपछि अनुभवका लागि आवेदन दिएको हिमश्वेताले बताइन् ।
उनले भनिन्, “उच्च शिक्षा अध्ययनसँगै लोक सेवाको पनि अनुभव हुन्छ भनेर दरखास्त दिएकी थिएँ । पहिलो प्रयासमै लोक सेवा पास भइयो । आयोग पास गरेर देशको सेवा गर्ने मौका पाउँदा खुसी लागेको छ ।”
आयोग पास भएपछि उनी मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिश भएकी छन् । सरकारले खटाएको कार्यक्षेत्रमा हाजिर हुन उनी शनिबार सुदूरपश्चिमबाट मकवानपुर गएकी छन् ।
२०५८ फागुन १६ गते बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गीता भट्टको कोखबाट जन्मिएकी उनी पढाइमा निकै मेहनती रहेको शिक्षण पेसामा रहेका बुबा थिरेन्द्रचन्द्र भट्टले बताए ।
बैजनाथ मावि कञ्चनपुरमा विज्ञान विषय पढाउँदै आएकी एक छोरी र एक छोराका पिता थिरेन्द्रचन्द्रले छोरीको सफलतामा परिवार खुसी भएको बताउँछन्
साभार ः गोरखापत्र अनलाइन