काठमाडौं । विजय बराल स्टारर नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको आठ दिनसम्म ११ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। शुक्रबार फिल्मको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले यो तथ्यांक सार्वजनिक गरेको हो।
फिल्मको कुल कारोबारमा ९ करोड ५० लाख रुपैयाँ नेट कमाइ र निर्माताको हिस्सा ४ करोड ७५ लाख पुगेको छ। वितरक कम्पनीका प्रमुख मनोज राठीले दोस्रो साता पनि फिल्मको आम्दानीमा थप वृद्धि हुने अनुमान गरिएको जानकारी दिए।
बिहीबार मात्र फिल्मले २ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। राठीका अनुसार शुक्रबार देशभर २।५ करोड र शनिबार ३ करोडभन्दा बढी कमाइ हुने प्रक्षेपण छ, जसले दोस्रो सप्ताहन्तसम्म फिल्मको कुल ग्रस कमाइ १६ करोड नाघ्न सक्ने संकेत गरेको छ।
फिल्मको लोकप्रियतासँगै देशभरका हलमा यसको शो संख्यामा पनि वृद्धि भई ४०० पुगेको छ। ‘पूर्णबहादुरको सारङ्गी’ले अहिले काठमाडौं उपत्यका र बाहिरी क्षेत्रहरूमा पनि आक्रामक कमाइ गरिरहेको छ। वितरकहरूको अनुमान छ कि यो गति कायम रहे, फिल्मले वर्तमानका सबै रेकर्डहरू तोड्न सक्छ।