काठमाडौं । हनी ट्र्यापमा पारेर व्यवसायीसँग असुली गर्ने गिरोहलाई प्रहरीले सहयोग गरेको भनिएको घटनामा फरार रहेकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीले गृह मन्त्रालयका उजुरी दिएकी छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरले प्रतिवादी बनाएपछि फरार रहेकी शाहीको तर्फबाट उनलाई कारबाही सिफारिस गर्ने समितिविरुद्ध नै उजुरी परेको हो ।
फरार इन्स्पेक्टर शाहीले केही दिनअघि गृह मन्त्रालयमा ललितपुर प्रहरीले बनाएको छानबिन समितिका संयोजक प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीविरुद्ध उजुरी दिएको मन्त्रालयका एक उच्च अधिकारीले पुष्टि गरे ।
ती अधिकारीका अनुसार, उजुरीमा डीएसपी अधिकारीले आफूविरुद्ध प्रतिशोध साँध्ने हिसाबले कारबाही गर्न सिफारिस गरेको दाबी गरिएको छ ।
‘केहीअघि गोदावरीमा गलत दृष्टिकोण राखेर उहाँले अभिव्यक्ति दिएको भन्नेदेखि अन्य केही आचरणगत विषय पनि उहाँले उल्लेख गर्नुभएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘उजुरीमा परेका विषयहरु हेर्दा ललितपुर प्रहरीबाट मात्र यो मामलामा अनुसन्धान हुँदा सही हुँदैन कि भन्ने हाम्रो ठम्याइ छ ।’
शाहीको निवेदन आएलगत्तै सत्य, तथ्य अनुसन्धान गर्न भन्दै उजुरीको प्रतिलिपिसहित प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरिएको ती अधिकारीले बताए ।
मन्त्रालयबाट उजुरीको प्रतिलिपि आएपछि प्रहरी महानिरीक्षक ९आईजीपी० वसन्त कुँवरले यो मामलाको अनुसन्धान जिल्ला प्रहरी परिसर, ललितपुरबाट खोसेका छन् । यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले हनी ट्र्याप प्रकरणमा अनुसन्धान थालेको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले भने मन्त्रालयमा उजुरी परेर छानबिन समिति गठन भएको थाहा पाएपछि आफूहरुले नै सीआईबी मार्फत् अनुसन्धान गरिदिन भन्दै पत्राचार गरेको बताए । उनले भने, ‘संगठित अपराध पनि भएकाले सीआईबीबाटै अनुसन्धान गर्न उपयुक्त हुन्छ भनी लेखी पठाएका थियौं ।’
सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, अहिले ब्यूरोले शाहीले गोदावरीमा भएको भनिएको घटना र हनी ट्र्यापको मामलालाई बेग्लाबेग्लै राखेर हेरिरहेको छ । ‘उहाँको कुरा ललितपुरमा छानबिन समितिले बायस भएर अनुसन्धान गर्यो, जबरजस्ती संगठित अपराधमा मुद्दा लग्यो भन्ने छ’, ती अधिकृतले भने, ‘मन्त्रालयबाट प्रहरी प्रधान कार्यालयमा निवेदन आएपछि अझै ललितपुरबाटै अनुसन्धान हुनु न्याय संगत हुँदैन भन्ने भएपछि सीआईबीले जाँच थालेको हो ।’
सीआईबी स्रोतका अनुसार, अहिले अनुसन्धान अधिकृतहरु हनी ट्र्यापकै मामलामा केन्द्रित छन् । ‘अर्को विषयमा छुट्टै छानबिन गर्नुपर्ने देखिन्छ, त्यो देख्ने मान्छेहरु अरु पनि होलान्’, स्रोतले भन्यो, ‘हनी ट्र्यापमा पार्ने गिरोहबारे चाहिँ गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं ।’