महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समयावधिमा १० जनाले राजनीतिक दलको तर्फबाट र दुई जनाले स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनुभयो
राजनीतिक दल अन्तर्गत नेकपा एमालेबाट बहादुर चन्द, नेपाली काँग्रेसबाट प्रकाश बहादुर चन्द, नेकपा माओवादी केन्द्रबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिश डगौरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुशील कुमार भट्ट, राप्रपा नेपालबाट दिल बहादुर धामी, जनमत पार्टीबाट यादव बहादुर चन्द र नेपाल मजदुर किसान पार्टीबाट दल बहादुर धामीले उम्मेदवारी दर्ता गराउनु भएको छ । थानेश्वर लेखक र युवराज चन्दले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार सो वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता हुनुहुन्छ । मङ्सिर १६ गते हुने मतदानका लागि शान्ति निकेतन माविलाई मतदान स्थल तोकिएको छ भने त्यसमा ६ वटा मतदान केन्द्र रहने छन् । २०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नं। ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।