महेन्द्रनगर । रामलिला समिति कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको छ । समितिले कार्तिक १ देखि १४ गतेसम्म खुला मञ्चमा रामलिला आयोजना गरेको थियो ।
महेन्द्रनगर । रामलिला समिति कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको छ । समितिले कार्तिक १ देखि १४ गतेसम्म खुला मञ्चमा रामलिला आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा रामलिला समिति मूल आयोजक समितिका संयोजक लक्ष्मीदत्त पाण्डेयले प्रशासनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
पत्रकार सम्मेलनमा प्रस्तुत प्रतिवेदन अनुसार समितिले १२ लाख ३१ हजार ६ सय रुपैँया आम्दानी गरी २४ हजार ३ सय १० रुपैँया बचत गरेको छ ।
समितिले सबैभन्दा बढी ४ हजार भन्दा बढी सहयोग गर्ने दाताबाट ६ लाख ३० हजार आम्दानी गरेको छ । त्यसपछि गोप्य दानबाट २ लाख ८५ हजार, एक हजारदेखि चार हजारसम्मका दाताबाट १ लाख ४५ हजार, एक हजार सहयोग गर्ने दाताबाट १ लाख १२ हजार, दान पेटी २५ हजार २ सय ९५, ठेला गाडा १८ हजार २ सय ५५ र आरतीबाट १३ हजार ७ सय १० रुपैँया आम्दानी गरिएको छ ।
समितिले रामलिला महोत्सवको टेन्ट, विद्युत र तालिममा ४ लाख २४ हजार खर्च गरेको छ । रामलिला मञ्चनका कलाकारले २ लाख ३५ हजार पारिश्रमिक लिएका छन् । सम्मान पत्र, प्रमाण र स्टेशनरीमा १ लाख ८३ हजार, हर्मोनी तबला ९४ हजार, सुरक्षा गार्ड ८४ हजार, अतिथि सत्कार, सरसफाई र चौकीदारमा ७५ हजार ९ सय ४० रुपैँया खर्च गरिएको छ ।
समितिले रामलिला महोत्सवमा भौतिक सहयोग गर्ने दाताहरुको नामावली पनि सार्वजनिक गरेको छ । ओमकार टेलिभिजन काठमाडौं, लक्ष्मी सप्लायर्श, मंगल इम्पोरियम, हिमालय वाटर, के.डी. मोटर्स र भीमदत्त नगरपालिकाले भौतिक सहयोग गरेका छन् ।
लक्ष्मी सप्लायर्शका लक्ष्मीदत्त पाण्डेयले पूजापाठ र विवाह खर्च सहयोग गरेका छन् । उनी रामलिला मूल आयोजक समितिका संयोजक पनि हुन् ।
मंगल इम्पोरियमका सञ्चालक प्रमोद जिजोदिया, हिमालय वाटरका पुष्पराज भट्टले पानी तथा केडी मोटर्सले पानी र चिया सहयोग गरेको पत्रकार सम्मेलनमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । भीमदत्त नगरपालिकाले रामलिला महोत्सवमा पानी सहयोग गरेको छ ।
समितिले भीमदत्त नगरपालिका सहित व्यापारिक प्रतिष्ठान, संघ संस्था, शुभ चिन्तकबाट सहयोगका लागि मौखिक आश्वासन आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
समितिका अध्यक्ष समरजंग बहादुर चन्दले सबै पक्षको सहयोग पाएर भव्य रुपमा रामलिला गरिएको बताए ।
पत्रकार सम्मेलनमा आजीवन सदस्यता लिने सदस्यहरुलाई सम्मान गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक डा. भुपेन्द्र विष्टले निर्देशन गरेको रामलिला नेपाली तथा डोट्याली भाषमा मञ्चन गरिएको थियो ।
समितिका अध्यक्ष चन्द सहित महोत्सव मूल आयोजक समितिका संयोजक पाण्डेय, महासचिव नरेन्द्रराज जोशी, कोषाध्यक्ष विष्णुदत्त भट्ट लगायत समितिका पदाधिकारी, सदस्य र सल्लाहकार सहभागी भएका छन् ।