महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनमा दुई स्वतन्त्र सहित १२ उम्मेदवार चुनावी प्रचारमा होमिएका छन् । स्वतन्त्र बाहेक १० उम्मेदवार विभिन्न राजनीतिक दलका छन् ।
नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्द बाबु चुनावी मैदानमा छन् । २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष लडेका उनी फेरि उप निर्वाचनमा उम्मेदवार बनेका छन् । चन्दले वडाका सबै टोलमा घरदैलो गरी चुनावी प्रचार गरि रहेका छन् ।
समाजवादीका चन्द उम्मेदवारमा सबैभन्दा कान्छा उम्मेदवार हुन् । २०४५ पुसमा जन्मिएका चन्द एकीकृत समाजवादी सम्बद्ध युवा संघको राजनीतिमा सक्रिय छन् । उनी युवा संघको सुदूरपश्चिम कोषाध्यक्ष छन् ।
घर परिवार र टोलमा उनी बाबु नामले चिनिन्छन् । आमा बुवाले सानैदेखि बाबु भनेपछि उनी जितेन्द्र भन्दा पनि बाबु नामले चिनिएका हुन् । २०७९ मा उम्मेदवार भएर टोलमा चुनावी घरदैलोमा गर्दा मात्रै उनको वास्तविक नाम जितेन्द्र भएको स्थानीयले थाह पाएका थिए ।
चुनावी घरदैलोमा आफूले जनताबाट पूर्ण रुपमा साथ र सहयोग पाउने आश्वासन पाएको चन्दले बताए । ‘म २०७९ मा पनि जनताको घरदैलोमा गएको थिए, अहिले फेरि गएको छु, अहिले जनतामा नयाँले केही गर्छ भन्ने विश्वास छ, युवा छ, दौडन् सक्छ, खट्न सक्छ भन्ने छ’ उनले भने,‘समग्रमा जनताबाट अहिलेसम्म राम्रो रेस्पोन्स पाएको छु ।’
वडाका सबै टोलमा घरदैलो, कोण सभा गरी जनतासित भेटघाट र आफ्नो प्रतिवद्धता पत्र दिइएको चन्दले बताए । २०७९ को स्थानीय तह चुनाव भन्दा अहिले आफूले फरक माहौल पाएको र त्यसले आफूलाई उत्साहित बनाएको उनी बताउँछन् ।
२०७९ मा पहिलो पटक चुनाव लड्दा पार्टी र चुनाव चिन्हबारे जनतालाई सम्झाउन समस्या परेको उनलाई सम्झना छ । अहिले पार्टी र चुनाव चिन्ह सम्बन्धि सम्झाउन बुझाउन समस्या नभएको उनी बताउँछन् ।
‘अहिले कमल हो भने समाजवादी हो भनेर जनताले बुझि सकेका छन्’ उनले भने । स्नातक तहसम्म अध्ययन गरेका उनी क्याम्पस पढ्दा राजनीतिमा आएका हुन् । सिद्धनाथ बहुमुखी क्याम्पस पढ्दा एमाले अखिलबाट राजनीतिमा आवद्ध भएका उनी हाल समाजवादीको युवा संघको राजनीतिमा सक्रिय छन् ।
कालिका आधारभूत विद्यालयबाट शिक्षा आरम्भ गरेका उनले कञ्चन विद्या मन्दिरबाट एसएलसी र बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी उनले काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पसमा बीबीएस अध्ययन गरेका हुन् । शिक्षा आरम्भ गरेको कालिका आधारभूत विद्यालयको उनी व्यवस्थापन समिति अध्यक्ष छन् ।
नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक ९असई० राम बहादुर चन्द र आमा बिनादेबी चन्दका दुई छोरामा उनी जेठा हुन् ।
राजनीति र समाज सेवामा उनको सानैदेखि रुची थियो । बाल्यकालमा समाजमा केही गरौ भन्ने मनमा हुटहुटी हुने गरेको उनको भनाई छ । यस पटक उप निर्वाचनमा जनताले साथ दिने उनी बताउँछन् ।
वडाका वासिन्दालाई सहज रुपमा सेवा प्रवाह गर्ने, विकास निर्माणका कार्य अघि बढाउने, शिक्षा, स्वास्थ्यमा समस्या हल गर्ने, ढल निकास गर्ने, डुबानका समस्या हल गर्ने लगायतका एजेण्डा मतदातामा पुगाएका छन् उम्मेदवार चन्दले । ‘वडाका वासिन्दालाई हरेक सेवा सुविधा सहज रुपमा उपलब्ध गराउने वाचा सबै मतदातामा गरेको छु’ उनले भने ।
२०७९ को चुनावपछि आफू जनता लगातार जनताको घरदैलोमा भएको उम्मेदवार चन्दले बताए ।
चन्दको प्रचारप्रसार समितिको नेतृत्व सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले गरेका छन् । उनी समाजवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।