महेन्द्रनगर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा भइरहेको वडाध्यक्षको निर्वाचनका लागि ५५ दशमलव ०४ प्रतिशत मतदाताले मात्रै मतदान गर्नुभएको छ । शान्ति निकेतन माविमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।
कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार सो वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता हुनुहुन्छ । ती मध्ये २ हजार ९ सय ९१ जनाले मात्रै मतदान गर्नुभएको छ । आजै रातिदेखि मत गणना गरिने मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताउनु भयो ।
वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र २ जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । २०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नं। ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन भइरहेको हो ।