महेन्द्रनगर । कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणको एक महिना बढी समय बितेको छ। गत महिनाको ८ गते राति घटना घटेकोमा अहिलेसम्म प्रहरीले अनुसन्धान जारी राखेको छ।
स्रोतका अनुसार प्रहरीले महिना दिन पछि अनुसन्धानबाट घटनामा क्लु फेला पारेको छ। प्रहरी स्रोतले क्लु फेला परेको र अहिले संकास्पद व्यक्तिको पोलिग्राफ टेष्ट भैरहेको जनाएको छ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी रविन्द्र केसीले पनि घटनाको अनुसन्धान नतिजाउन्मुख रहेको जनाए। घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको छ। सो टोलीले अहिले प्राविधिक रुपमा समेत अनुसन्धान गरिरहेको छ।
जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबी का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका छन्।
त्यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो। त्यस अगाडिदेखि जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीको टोलीसहित, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआईटी टोली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले पनि घटनाको अनुसन्धान गर्दै आएका छन्।
अहिले पनि त्यहाँको इलाका प्रहरी कार्यालयसहितको टोली रातदिन अनुसन्धानमै खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत कार्तिक महिनाको ८ गते राति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। सोही घटनामा अहिले प्रहरीले मसिनो रुपमा अनुसन्धान गरिरहेको जनाएको छ।
मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल चलाउँथे। उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए।
हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसनधानबाट उनीहरुको बीभत्स हत्या भएको खुलेको थियो।