भीमदत्त ६ का नव निर्वाचित वडा अध्यक्ष चन्दले गरे पदभार ग्रहण

Published by:

Published on:

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ का नव निर्वाचित वडा अध्यक्ष प्रकाश चन्दले पदभार ग्रहण गरेका छन् । भीमदत्त नगरपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण पछि वडा कार्यालय गएर वडा अध्यक्ष चन्दले पदभार ग्रहण गरेका हुन् ।

भीमदत्त नगरपालिकाको नगर सभा कक्षमा मेयर पदम बोगटीले नव निर्वाचित अध्यक्ष चन्दलाई पद तथा गोपनियताको शपथ खुवाए।

सशप ग्रहण कार्यक्रममा मेयर बोगटी सहित उप मेयर निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, सबै वडाका जनप्रतिनिधि सहभागी भए ।

शपथ ग्रहणपछि वडा अध्यक्ष चन्द वडा कार्यालय गएर पदभार ग्रहण गरे । उनलाई कार्य वाहक वडा अध्यक्ष देबकी जोशी लगायतले स्वागत गरे । पदभार ग्रहण गर्दै वडा अध्यक्ष चन्दले उद्योग दर्ता सिफारिशमा सबैभन्दा पहिलो हस्ताक्षर गरेका छन् ।

भीमदत्त नगरपालिका ६ मा आइतबार भएको उप निर्वाचनमा चन्द निर्वाचित भएका हुन् । २०७९ को निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि उप निर्वाचन भएको थियो ।

उप निर्वाचनमा चन्दले एक हजार एक सय सात मत ल्याएका थिए । उनी काँग्रेसको भीनपा ६ वडा कार्य समितिका सभापति हुन् ।

विद्यार्थीबाट राजनीतिमा आएका चन्द २०७४ को स्थानीय तह निर्वाचनदेखि वडाका अध्यक्षका आकाँक्षी थिए ।

पदभार ग्रहणपछि उनले उप निर्वाचनमा मत दिएर आफूलाई जिताउने सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गरे । निर्वाचनमा उनले स्वर्गिय खड्का प्रतिवद्धता पूरा गर्ने वाचा गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार