जाडो मौसम शुरु भएको छ । जाडो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले पनि बढी नै सताउने गर्छ । पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन् ।
गत नोभेम्बरमा चीनको न्यासनल हेल्थ कमिसनले बालबालिकाहरूलाई प्रायस् भइरहने ब्याक्टेरिया सङ्क्रमणमा व्यापक वृद्धि भएको जनाएको थियो। जसमा इन्फ्ल्युएन्जा, कोभिड र माइकोप्लाज्मा निमोनी जस्ता समस्या थिए। त्यसपछि विश्व स्वास्थ्य सङ्गठनले त्यहाँको प्रशासनलाई उद्धृत गर्दै निमोनिया देखिएका बालबालिकाहरूमा गरिएको अध्ययनमा आफूहरूले चिन्ता गर्नुपर्ने गरी कुनै पनि अस्वाभाविक रोग निम्त्याउने कुरा पहिचान नभएको बताएको थियो। विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाहरूमा रोग प्रतिरोधी क्षमता कमजोर भएका कारण निमोनियाको समस्या देखिएको जनाएको थियो।
लामो समय एकान्तवासमा रहेका बालबालिकाहरू रोग निम्त्याउने कुराको सम्पर्कमा पुगेका कारण यो एकै पटक धेरै जनामा फैलिएको विश्व स्वास्थ्य सङ्गठनको दाबी छ। महामारी रोक्नका लागि लागु गरिएका प्रतिबन्धहरू हटाएपछि यूके, फ्रान्स, डेनमार्क र अमेरिका सहितका देशहरूमा पनि ज्वरोका लक्षणहरू देखिने यस्तै सङ्क्रमणहरू धेरै देखा परेका थिए।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने सङ्क्रमण हो। सन् २०१९ को एक आँकडा अनुसार उक्त वर्ष पाँच वर्ष मुनिका ७,४०,१८० जना बालबालिकाहरूको यो सङ्क्रमणका कारण मृत्यु भएको थियो। जुन सङ्ख्या त्यो वर्ष मृत्यु भएका यो उमेर समूहका बालबालिकाहरूको कुल सङ्ख्याको १४ प्रतिशत थियो। यस्तो मृत्यु सबैभन्दा धेरै दक्षिण एशिया र अफ्रिकाको सब९सहारा क्षेत्रमा देखिएको छ।
निमोनियाबारे तपाईँले थाहा पाउनुपर्ने पाँच वटा कुरा हामीले यहाँ उल्लेख गरेका छौँ। निमोनिया जन्मकै समयमा वा त्यसको केही समयपछि पनि रगतबाट फैलनसक्छ।
न्यासनल फाउन्डेसन फर इन्फेक्सिअस डिजिज् एनएफआईडीका अनुसार निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ। जो कसैलाई पनि निमोनिया हुनसक्छ तर केही मानिसहरूमा यसको सङ्क्रमणले उच्च जोखिम निम्त्याउन सक्छ। ससाना बालबालिका, ज्येष्ठ नागरिकहरू वा मुटु र फोक्सो सम्बन्धी समस्या, मधुमेह जस्ता मानिसहरूको रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने किसिमका निश्चित दीर्घरोग भएका मानिसहरू यसको सङ्क्रमणबाट गम्भीर अवस्थामा पुग्ने उच्च जोखिममा हुन्छन्। यसका लक्षणहरू ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन्। यसमा श्वास फेर्न गाह्रो हुने, सेप्सिस भनिने धेरै अङ्गहरूले काम नगर्ने अवस्था र मृत्यु जस्ता जटिलताहरू देखा पर्नसक्छन्।
यसको जटिल सङ्क्रमण रोक्नका लागि समस्याको सकेसम्म छिटो पहिचान हुन आवश्यक छ। निमोनिया धेरै तरिकाबाट फैलन सक्छ। बालबालिकाहरूको नाक वा घाँटीमा सामान्यतया पाइने भाइरस वा ब्याक्टेरिया निलेर फोक्सोमा पुग्यो भने त्यसले सङ्क्रमण गराउनसक्छ। तिनीहरू हावामा पानीका छिटाहरूको माध्यमबाट, खकार वा सिँगानको माध्यमबाट वा यस्तो कीटाणु रहेको सतहमा हामीले छोएको अवस्थामा पनि फैलन सक्छ। निमोनिया गराउने र सर्ने अवस्थाबारे धेरै अनुसन्धानहरू हुन जरुरी छ जसका कारण यसको उपचार र रोकथाममा सहयोग पुग्नसक्छ।
यसको सङ्क्रमण एन्टिबायोटिकबाट निको हुने अवस्थामा निमोनियाको उपचारका लागि त्यस्ता औषधी चलाइने गरिन्छ। तर केही मानिसहरूलाई एन्टिबायोटिक नचाहिन पनि सक्छ।धेरै मानिसहरूलाई दुई देखि चार सातामा यो निको हुन्छ। तर केही मानिसहरूलाई यसले गम्भीर बिरामी पार्नसक्ने जोखिम हुन्छ र त्यस्ता मानिसहरूलाई उपचारका लागि अस्पताल लैजानुपर्छ।