ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुरमा भारतीय पक्षबाट सीमा अतिक्रमण बढ्न थालेपछि प्रशासनद्वारा अनुगमन थालिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नाममा रहेको दक्षिणी क्षेत्र २७ देखि २८ नम्बर सीमा स्तम्भमा भारतीय पक्षबाट सीमा अतिक्रमण बढ्न थालेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा सहित जिल्ला सुरक्षा समितिका प्रतिनिधिहरू, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज कुमार शाह, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मी राज जोशी लगायत स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायले भारतीय पक्षद्वारा गरिएको अतिक्रमण क्षेत्रको अनुगमन गरेको हो ।
स्थलगत अनुगमनको क्रममा दक्षिण बेल्ट पुगेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बिजोर नम्बर सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्नुपर्ने जिम्मेवारी अनुसार ७ सय ८७ को ३ नम्बर शाखा सीमा स्तम्भ राख्न बाँकी रहेको र जोर नम्बर सीमा स्तम्भ र त्यसका शाखा स्तम्भ भारतले नै बनाउनु पर्ने व्यवस्था रहेको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नाममा रहेको करिब नौ सय बिगाहा जमिन भारतीय नागरिकहरूले उपभोग गर्दै आइरहेको भएता पनि नेपाल–भारत सीमा स्तम्भ बारेमा उनीहरू जानकार नभएर बसोबास गर्दै आइरहेकोले भारतको तर्फबाट सीमा स्तम्भ बनेपछि समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी सापकोटाले विश्वास व्यक्त गरेका छन् ।
नेपाली पक्षले त्यहाँ कुनै पूर्वाधार विस्तार गर्न सकेको छैन । सशस्त्र द्वन्द्वकाल र त्यसयता नेपालमा देखिएको अस्थिरताकै कारण भारतीय पक्षले थप नेपाली जमिन कब्जा गरेको बुझिएको छ ।
यसै वर्ष थप ५० बिघा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्रको नेपाली जमिन खनजोत गरिरहेको थाहा पाएपछि २ जना भारतीय नागरिकहरूलाई पक्राउ गरी निकुञ्जले मुद्दा चलाइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज कुमार साहको भनाइ छ । उनीहरूलाई पक्राउ गरेपछि थप नेपाली भूभाग अतिक्रमण गर्ने भारतीय पक्षको गतिविधि रोकिएको छ ।
२०५२ सालको सशस्त्र द्वन्द्वपछि सुरक्षाको कारण देखाउँदै संरक्षणको अभावमा अलपत्र परेपछि निकुञ्जको दक्षिणी क्षेत्र भारतीय नागरिकहरूको अतिक्रमणको चपेटामा परेको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर खड्काले बताए । ७ सय ८७ मुख्य सीमा स्तम्भ पछिका निर्माण भएका एक र दुई शाखा सीमा स्तम्भ निर्माण पछि भारतीय नागरिकले खनजोत गरेको ५० बिगाहा जमिन अतिक्रमण हुनबाट जोगिएको अध्यक्ष खड्काको भनाइ रहेको छ ।