महेन्द्रनगर । बेलौरीमा सोमबारदेखि तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजना तथा बेलौरी नगरपालिकाको सह–आयोजनामा खुला मञ्चमा महोत्सव सुरु भएको छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बेलौरीको मूल आधार’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्दै कृषि, उद्योग र व्यापार क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने लक्ष्य राखिएको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्टले बताए ।
महोत्सवमा राखिने स्टलमा स्थानीय कृषि उत्पादन, जैविक वस्तुहरू, हस्तकला, औद्योगिक सामग्री र आधुनिक प्रविधिको प्रदर्शनी गरिने बेलौरी उद्योग वाणिज्य संघका महासचिव गोविन्द सापकोटाले जानकारी दिए ।
ृउनका अनुसार महोत्सवको मुख्य आकर्षणमा स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने छ । यसका साथै, महोत्सवले स्थानीय संस्कृति झल्काउने विभिन्न गतिविधिहरूलाई प्राथमिकता दिने बताइएको छ । स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग महोत्सवको मुख्य आर्थिक स्रोत हुने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी लगायतका वक्ताहरूले बेलौरीका विविध विषयमा आआफ्ना धारणा राखेका थिए