महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी भएमात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन् ।
पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारीहरुले आफू नेतत्वको सरकार ढालेको दाबी गरेका छन् ।
उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ। त्यसलाई लुकाउन दिइनेछैन। ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन।
वाइडबडीको भ्रष्टाचार छोडिने छैन । यो सबैको निम्ति माओवादीलाई पहिलो बनाउनु पर्छ। हेर्नु होला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ। यो विश्वास तपाईंहरुलाई दिलाउँछु ।’ प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको पक्षमा धेरै काम गरेको जिकिरसमेत गरेका छन् ।
