भीमदत्त ईको पार्कमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको बजारसँगै जोडिएको ईको पार्क क्षेत्र बाक्लो वस्ती साथै मोटरगाडीको उच्चतम् प्रयोग हुने स्थान हो।

पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटरगाडीको अधिकतम् प्रयोग साथै उद्योग धन्दाहरूले वातावरण प्रदुषित बन्दै गएको छ। जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बीच वातावरणीय सन्तुलन कायम गर्न भीमदत्त नगरपालिकामा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण र सरसफाईका कार्यक्रम निरन्तर रूपमा भईरहेको छ।

यसै क्रममा आज भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित ईको पार्कमा बृहत सरसफाई गरिएको छ। भीमदत्त नगरपालिकाको आयोजना तथा वडा नम्बर १८ कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), उत्थानशील युवा सञ्जाल, सुदूरपश्चिम विश्वविद्यालय वातावरण विद्यार्थी समाज, नगर प्रहरी साथै स्थानीयको सहकार्यमा ईको पार्कमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

भीमदत्त नगरपालिका वडा नम्बर-१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले ईको पार्कमा हरियाली प्रवर्द्धनका लागि काम भइरहेको बताउनुभयो। उहाँले ईको पार्कमा व्यक्तिहरू मनोरञ्जनका लागि आउने र जथाभावी फोहोर गर्ने गरेको पाईएको बताउनुभयो। वडा अध्यक्ष देवकोटाले ‘क्लीन सिटी ग्रीन सिटी’को अवधारलाई सफल पार्न सर्वप्रथम नागरिकहरू सचेत हुन आवश्यक रहेको बताउनुभयो।

भीमदत्त नगरपालिका वडा नम्बर-१८ का वडा सदस्य तथा राष्ट्रिय उद्यान महासंघका केन्द्रीय सदस्य हेम बहादुर बस्नेतले बजारसँगै जोडिएको ईको पार्कले वातावरण सन्तुलन साथै स्वच्छ हावा प्रदान गर्नमा महत्त्वपूर्ण योगदान पुऱ्याउने भएकाले यस्ता कार्यक्रम निरन्तर रूपमा गरिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले जलवायु परिवर्तन अनुकुलनका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापनका लागि सबै निकायले देखाएको तदारूकताले ‘क्लीन सिटी ग्रीन सिटी’ को अवधारणा सफल हुने विश्वास व्यक्त गर्नुभयो।

भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालका संयोजक बिरेन्द्र ओडले सञ्जालले प्राकृतिक विपद जोखिम न्यूनिकरण, जलवायु अनुकुलन साथै सरसफाई अभियानमा काम गर्दै आएको बताउनुभयो। उहाँले ‘ग्रीन भीमदत्त क्लीन भीमदत्त’ अभियानका लागि सञ्जालले निरन्तर रूपमा काम गर्दै जाने बताउनुभयो।
सुदूरपश्चिम विश्वविद्यालय वातावरण विद्यार्थी समाजका संयोजक सुधा भट्टले प्लास्टिकको अधिकतम् प्रयोगले वातावरण प्रदुषित बन्दै गएको बताउनुभयो। उहाँले प्लास्टिकले विभिन्न रोगहरूको जोखिम हुने भएकोले यसको प्रयोगलाई न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो।

विगतका दिनमा सरसफाईका लागि विभिन्न अभियान चालिए पनि अझै धेरै पर्यटकीय स्थल, पार्क, सार्वजनिक स्थल साथै खुला क्षेत्रको फोहोर व्यवस्थापन गर्न सकिएको छैन्। यसका लागि प्रत्येक व्यक्ति, घर, परिवार र समुदायले चाँसो देखाएर फोहोरको उचित व्यवस्थापन गर्न सके मात्र सरसफाईका अभियानले सार्थकता पाउनेछ र क्लीन सिटी ग्रीन सिटी’ को अवधारणा पनि सफल हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार