महेन्द्रनगर । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा कार्यक्रममा हेरफेर र रकमान्तर गरेको छ । भीमदत्तको १६ औँ नगर सभाबाट बजेट हेरफेर गरिएको हो । नगरपालिकाले नगर खेलकूद विकास समितिका लागि बजेट विनियोजन गर्न हेरेफेर तथा रकमान्तर गरेको हो ।
खेलकूद विकास समितिका लागि बर्खे अधिवेशनबाट बजेट विनियोजन नभएकाले यस सभाबाट स्वीकृत गर्ने गरी केही दिन अघि कार्यपालिकाबाट ४५ लाख बजेट विनियोजन गर्ने निर्णय गरिएको थियो ।
खेलकूदका लागि बजेट विनियोजन नभएको र बजेट विना राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्ने अवस्था आएपछि नगरपालिकामा दबावमा परेको थियो ।
भीमदत्तका नगर प्रवक्ता पदरराज अवस्थीले चालु आर्थिक वर्ष २०८१÷२०८२ का लागि स्वीकृत बजेट तथा कार्यक्रममा केही हेरफेर र रकमान्तर गरिएको बताए ।
नगर सभामा अनुमोदनका लागि नगर कार्यपालिका बैठकका निर्णय, नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण, संस्थागत क्षमता स्वमुल्यांकन लगायतका विभिन्न समितिका प्रतिवेदन छलफल गरिएको छ । सभामा न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति संयोजक एवम् नगर उपप्रमुख निलम लेखक जोशीको अनुमतीमा न्यायिक समिति सदस्य एवम् नगर सभा सदस्य नर बहादुर साउँदले प्रस्तुत गरेका थिए ।
यसैगरी आर्थिक विकास समिति, लेखा समिति, विधेयक समिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति र पूर्वाधार विकास समितिको प्रतिवेदन समिति संयोजक क्रमशः गगन सिंह धामी, हरिहर दमाई, भुपेन्द्र सिंह रावल, प्रताप साउँद, सुशिल कुमार भट्ट, प्रकाश थापा र पदमराज अवस्थीले प्रस्तुत गरेका थिए । नगर सभाबाट ती सबै प्रतिवेदन पारित गरिएको जानकारी दिइएको छ ।

