थारु बस्तीमा छायो माघीको रौनक

Published by:

Published on:

महेन्द्रनगर । कैलाली–कञ्चनपुरका थारु बस्तीमा माघीको हर्षोल्लास छ। थारु समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन्। थारु समुदायमा माघ १ गतेदेखि नयाँ वर्ष सुरु भएको छ। थारु सम्वत् २६४८ को सुरुवात भएको हो ।

यो पर्वका अवसरमा हरेकका घरमा विशेष परिकार बनाएर खाने गरिन्छ। वर्षभरि टाढा रहने परिवारजन, आफन्तजन पनि यो पर्व मनाउन जमघट गर्छन्। मघौटा नाच र ढमार गीतले बस्ती गुञ्जयमान छन् । ठाउँमा–ठाउँमा आयोजित माघी मिलन कार्यक्रममा बालक, तन्नेरीदेखि वृद्धवृद्धासम्मको जमघट छ ।

बेदकोट नगरपालिका–९ लालपुरकी सीता डगौँराका अनुसार माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाएर आ–आफ्नो आफन्त, इष्टमित्रहरूसँग भेटघाट गर्ने, अग्रजबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद लिइएको थियो ।

मकर संक्रान्तिको अघिल्लो दिन बंगुर काट्ने गरिन्छ। माघीको तयारी करिब एक साताअघि नै गरिन्छ । माघीको तेस्रो दिन माघ २ गते ‘खिच्रहवा’ भनिन्छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु अगुवा बताउँछन् ।

माघीको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एवं भल्मन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ ।

यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भनिन्छ । थारु बस्तीमा अहिले बडघर छान्ने तटारो पनि छ । माघीमै परिवारका सदस्य जमघटल भएर वर्षभरीको योजना बनाउनेदेखि घर छुट्टिनेसम्मका कार्य हुने गरेको थारु अगुवाको भनाइ छ । थारबस्ती ‘मघौटा नाच’ले गुञ्यमान बनेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार