गृहमन्त्री लेखकको त्रिदेशीय नाका मोह, पूरा हुँदै चुनावी एजेन्डा

Published by:

Published on:

महेन्द्रनगर । कांग्रेस नेता रमेश लेखक कानूनका ज्ञाता मानिन्छन्। र, अहिले देशको गृहमन्त्री छन्। गृहमन्त्रीको रूपमा उनको कार्यकाल कति सफल छ, त्यो फरक कुरा हो। तर, कञ्‍चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उनले देखेको जिल्लालाई त्रिदेशीय नाका बनाउने सपनाले भने मूर्त रूप पाउँदै छ।

उनी कञ्‍चनपुर मात्र होइन, सुदूरपश्‍चिम प्रदेशलाई नै आन्तरिक र बाह्य नाकाहरूको हब बनाउन सक्रिय छन्। उनले देखेको सपनाले साकार रूप पनि पाउँदै छ।

मन्त्री लेखकले पश्‍चिमी नाकाबाट व्यापारको ढोका खोल्ने एजेन्डा स्थापित गराउँदै छन्। र, त्यसका लागि निरन्तर पहल गरिरहेकै छन्। झण्डै अढाइ दशकअघि देखेको सपना साकार पार्न लेखक आफैं गृहमन्त्री भएका बेला अझ सक्रिय देखिन्छन्।

उनी ०५६ सालमा पहिलोपटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए। जिल्लालाई त्रिदेशीय नाका बनाउने उनको सपना ०५६ सालदेखिकै हो।

सबै निर्वाचनमा उनले कञ्‍चनपुरलाई त्रिदेशीय नाकाको रूपमा विकास गर्ने सपना देखाइरहे। कहिले उनी पत्याइए, कहिले पत्याइएनन् १ तथापि, जिल्लालाई त्रिदेशीय नाका बनाएर भारत र चीनसँग व्यापारको ढोका खोल्ने एजेन्डा उनले कहिल्यै छाडेनन्। कञ्‍चनपुरलाई त्रिदेशीय नाका बनाउने कामको शुरुवात भने ०५८ सालमा भएको मानिन्छ, जब त्यतिबेलाका चाँदनी र दोधारा गाविस जोड्न महाकाली नदीमा झोलुंगे पुल निर्माण भयो, त्यो पनि देशकै नमूनाका रूपमा। महाकाली पारिका चाँदनी र दोधारा त्यतिन्जेल राष्‍ट्रीय मुलधारमै थिएनन्, झोलुंगे पुलले मात्र देशसँग कनेक्टेड गरेको थियो।

पछिल्ला दिनमा महाकाली नदीमै चार लेनको पक्की पुल निर्माण भएर सञ्‍चालनमा आइसकेको छ। र, झोलुंगे र पक्की पुल बनाउन लेखकको योगदान मुख्य छ। उनीसँगको भेटमा उनको जिब्रोमै झुण्डिएको पाइन्छ, दोधारा(चाँदनी। त्यहाँका बासिन्दाले भने आफ्नो क्षेत्रमा पूर्वाधार विकासमा लेखकको योगदान सम्झिने गर्छन्।

दोधारा चाँदनीको विकासका लागि त्यहाँ सुक्खा बन्दरगाह निर्माणका लागि पनि उनले नै पहल थालेका थिए। बन्दरगाह निर्माणका लागि भारत सरकारसँग निरन्तर पहल गरिरहे। र, त्यसमा देखिएका प्रक्रियागत उल्झन समाधानका लागि सक्रिय रहे।

उनकै सक्रियतामा दोधारा चाँदनीमा बन्‍ने सुक्खा बन्दरगाह निर्माणको कामले अहिले मूर्त रूप पाएको छ। भारत सरकारले बन्दरगाह निर्माणका लागि टेन्डर आह्वान गरिसकेको छ। भारतीय पक्षले बन्दरगाहका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा टेन्डर आह्वान गरेको छ।

नजर उत्तरतिर

उत्तरतर्फ चीनसँग व्यापारको ढोका खोल्न अहिले महेन्द्रनगरदेखि ताक्लाकोटसम्म महाकाली कोरिडोर निमार्णधीन छ। उक्त कोरिडोरलाई तीव्रता दिन मन्त्री लेखक निरन्तर पहलमा छन्। त्यसका लागि ११ माघमा मात्रै उनले एसियाली विकास बैंक ९एडीबी० का नेपाल प्रतिनिधि आर्नो कोस्वासँग भेटवार्ता गरे। त्यस भेटमा उनले सुदूरपश्‍चिमको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्ने लक्ष्‍य रहेको महाकाली कोरिडोरको सडक निर्माणमा सहयोग गर्न आग्रह गरे।

यस्तै, निर्माणको प्रक्रियामा रहेको दोधारा(चाँदनी सुक्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूनाकै रूपमा विकास गर्न सहयोगका लागि कोस्वासँग आग्रह गरे।

देशकै सुदूरपश्‍चिम। अहिले प्रदेशको नाम पनि सुदूरपश्‍चिम। अनि यही प्रदेश हो, जो पञ्‍चायत कालभरि देशसँगै कनेक्टेड थिएन, कर्णाली नदीको छेकवार थियो। त्यही कर्णालीमा देशकै नमूना पक्की पुल बनेपछि विगतको विकट सुदूरपश्‍चिम देशसँग कनेक्टेड भयो। र, विकासका पूर्वाधारमा पनि फड्को मार्दै गयो÷मार्दैछ। आफ्नो गृह प्रदेशलाई समृद्ध बनाउन मन्त्री लेखकले महाकाली करिडोर, सुक्खा बन्दरगाह निर्माणलगायत ठूला बहुप्रतिक्षित आयोजनाको काम अघि बढाउन पहल गरिरहेका छन्।

त्यसैले हो, भारतसँगसँगै उत्तरी छिमेकी चीन जोड्ने नाका खोल्न उनी निरन्तर लागिरहेको पनि। र, निकट भविष्‍यमै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने तयारी गरेका छन्। गृहमन्त्री भएलगत्तै गृहजिल्ला महेन्द्रनगर पुगेका उनले अब आफ्नो योजना तिंकरमा अध्यागमन कार्यालय खोल्नु रहेको बताएका थिए। र, महेन्द्रनगरलाई तिंकरसँग महाकाली कोरिडोरले जोड्ने उल्लेख गरेका थिए।

त्यति मात्र होइन, ०७३ सालमा भौतिक पूर्वाधार मन्त्री छँदा उनले नै धनगढी(अत्तरिया ६ लेन सडक, महाकाली लोकमार्ग र कञ्‍चनपुरमा दर्जनौं पुल निर्माण भएका थिए।

दक्षिणी छिमेकी भारतका सबैभन्दा ठूला औद्योगिक शहरहरू तथा महत्त्वपूर्ण आर्थिक गतिविधि र औद्योगिक कोरिडोर भएका शहरहरूसँग कञ्‍चनपुर नजिक पर्छ। यस्तै, उत्तरतर्फ चीनको सीमासम्म सरल र प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्दै जान सकिने महाकाली कोरिडोर निर्माणाधीन छ। त्यही नियालेका मन्त्री लेखकले कञ्‍चनपुरलाई त्रिदेशीय नाका बनाउने नारा दिएका थिए। भविष्‍यमा उनको यो नारा सार्थक बन्‍ने छनक देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार