काठमाडौं । भारतको ओडिशा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ।
आइतबार विश्वविद्यालयको छात्रावासमा मृत भेटिएकी लम्सालको शव मंगलबार पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको थियो। त्यसपछि बुधबार विमानमार्फत ओडिशाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म ल्याइएको शव सडकमार्ग हुँदै बेलहिया नाका पार गरेर भैरहवा ल्याइएको प्रहरीले जनाएको छ।
लम्सालको शव भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पतालमा राखिएको छ। उनका पिता भारतबाट नेपाल फर्किने क्रममा रहेकाले उनको उपस्थितिपछि अन्त्येष्टि कहिले गर्ने भन्ने निर्णय गरिने बुझिएको छ।
ओडिशा सरकारले छानबिन समिति गठन
ओडिशा राज्य सरकारले घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ। भुवनेश्वर प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्र एडविक श्रीवास्तवलाई पक्राउ गरेको छ।
त्यसैगरी, अनुसन्धानका क्रममा विश्वविद्यालयका पाँच जना कर्मचारीलाई समेत पक्राउ गरिएको थियो। तर, उनीहरूलाई अदालतले केही घण्टामै धरौटीमा रिहा गरेको छ।
घटनाले नेपाली विद्यार्थीको सुरक्षामाथि प्रश्न
प्रकृति लम्सालको मृत्यु र त्यसपछिको घटनाक्रमले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। केआईआईटी विश्वविद्यालय प्रशासनको भूमिका विवादित बनेको छ, जसका कारण यो घटनाले नेपाल(भारत कूटनीतिक तहसम्मको चासो बढाएको देखिन्छ।
