भूमाफियाको निशानामा बेलडाँडीका पालिका प्रमुख, बजार अध्यक्ष र पत्रकार

Published by:

Published on:

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण गरी किनबेच गर्ने, सडक मिचेर व्यापारिक स्वार्थ सिद्ध गर्ने र नक्साका बाटो बेचेर व्यक्तिगत लाभ उठाउने भूमाफिया समूह सक्रिय बन्दै गएका छन् ।

यिनै समूहले गाउँपालिकाको समृद्धिका लागि नक्सा अनुसारको सडक खुलाउने, अतिक्रमण अन्त्य गर्ने र सुशासन कायम गर्ने अभियानमा जुटेका पालिका प्रमुख, बजार व्यवस्थापन समितिका अध्यक्ष र पत्रकारलाई लक्षित गरी धम्कीपूर्ण गतिविधिहरु गर्दै आएका छन् ।

पालिकाको विकास प्रयासलाई आफ्नो स्वार्थमा बाधा देखेर भूमाफियाहरू गाउँपालिका प्रमुख हरिशचन्द्र राना, चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्री र स्थानीय पत्रकार विमल धामीलाई प्रत्यक्ष र परोक्ष रूपमा दबाब दिदै आएका छन् ।

धम्कीपूर्ण गतिविधि, चरित्र हत्या गर्ने प्रयत्नदेखि लिएर सामाजिक रूपमा बदनाम गराउने हर्कतसमेत नगरेका होइनन् ।

किन निशानामा परे प्रमुख, अध्यक्ष र पत्रकार?

पालिका प्रमुख रानाले गाउँपालिकाभित्र अतिक्रमित सार्वजनिक सडकहरू खाली गराउँदै नक्सा अनुसारको बाटो खुलाउने अभियान चलाएपछि भूमाफियाहरू असहज भएका छन् ।

उनका निर्णयले निजी स्वार्थका लागि सार्वजनिक संरचना कब्जा गर्नेहरूको योजनामा बाधा पुगेपछि उनी भूमाफियाको मुख्य निशानामा परेका हुन् ।

त्यस्तै, चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले बजार क्षेत्रभित्र नक्सा अनुसारको बाटो खुलाउने विषयमा सर्वसम्मत निर्णय गराउँदै पालिकालाई आग्रह गरेपछि उनी पनि भूमाफियाको क्रोधको पात्र बनेका छन् ।

बजार क्षेत्रको अव्यवस्थित संरचनाले जनतालाई सास्ती भइरहेको अवस्थामा खत्रीको नेतृत्वमा सुरु गरिएको व्यवस्थापन अभियान भूमाफियाका लागि असह्य भएको देखिन्छ ।

यस्तै, पत्रकार विमल धामीले सत्य तथ्यमा आधारित समाचार प्रकाशन गर्दै विकास अभियानलाई सघाउँदै आएका छन् । भूमाफियाहरूले पत्रकार धामीलाई आफ्नो पक्षमा समाचार लेख्न दबाब दिँदै आएका थिए । तर धामीले सार्वजनिक हितका लागि विकास अभियानमा देखिएको असल नियतलाई उजागर गर्न थालेपछि उनी पनि धम्कीको सिकार बन्न पुगेका हुन् ।

समाज रूपान्तरणमा उदाहरणीय भूमिका

पालिका प्रमुख राना, अध्यक्ष खत्री र पत्रकार धामीको प्रयासले बेलडाँडी गाउँपालिकामा सार्वजनिक संरचना सुरक्षित गर्न, अव्यवस्थित अतिक्रमण अन्त्य गर्न र समुचित विकासको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

उनीहरूको असल नियत र इमान्दार प्रयासले स्थानीय नागरिकमा पनि आशा र विश्वास जागेको छ ।

स्थानीय सरकारले नक्सा अनुसारको सडक, सार्वजनिक जमिन संरक्षण र समावेशी विकासको खाका अगाडि बढाउँदा केही स्वार्थी समूहले त्यसमा अवरोध सिर्जना गर्न खोजे पनि जनताले भने यस्ता सकारात्मक कदमलाई खुलेर समर्थन गर्न थालेका छन् ।

सम्पन्न विकास, सुशासन र सार्वजनिक हितका लागि अगाडि बढेका बेलडाँडीका यी पात्रहरू आज सामाजिक रूपान्तरणका प्रेरणाका पात्र बन्न पुगेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार