महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का प्रदेशसभा सदस्य चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नाउपाको प्रदेश संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरेको थियो ।
अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दल र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाएकी थिइन् । तर, संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो ।
१६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो । आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए ।
उनी पनि नागरिक उन्मुक्ति पार्टीबाटै मन्त्री भएका थिए ।