शुक्लाफाँटाका मेयर महराले सार्वजनिक गरे तीन वर्षका उपलब्धि

Published by:

Published on:

महेन्द्रनगर । ‘निर्वाचन लडेर धेरै गर्न सकिन्छ भनेर आयौ, तर सरकार लगायत विभिन्न समस्याले सोचे अनुसार ती पूरा गर्न नसकिने रहेछ ।’

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले सोमबार नगरपालिकाको सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा पत्रकाहरुले सोधेको प्रश्नको जवाफ दिँदै उक्त भनाई राखेका हुन् ।
२०७९ को स्थानीय तह निर्वाचनबाट शुक्लाफाँटाको मेयर निर्वाचित भएका महराले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो तीन वर्षे उलपब्धि सार्वजनिक गरे । उनले तीन वर्षे उपलब्धि वाचन र त्यसपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिए ।

मेयर महराले सम्मेलनमा शुक्लाफाँटा नगरपालिकाका अधिकाँश वडाहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले विकास निर्माण लगायतका कार्यमा अपेक्षित उपलब्धि हासिल गर्न समस्या देखिएको सुनाए ।

मेयर महराका अनुसार शुक्लाफाँटाका १२ वडामध्ये ९ वडा मध्यवर्ती क्षेत्रमा छन् । ती वडाको विकास निर्माणमा नगरपालिकाले अवरोध झेल्न बाध्य भएको उनको भनाई छ ।

शुक्लाफाँटाले बेरुजु नियन्त्रणमा अनपेक्षित प्रगति हासिल गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा कञ्चनपुरमा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा शुक्लाफाँटा परेको छ । ‘जिल्लामा सबैभन्दा कम बेरुजु हुनेमा हामी दोस्रो स्थानमा छौ, पहिलेको तुलनामा अहिले बेरुजु निकै छ’ मेयर महराले भने ।

स्थानीय तह निर्वाचनमा मेयर महराको भूमिहिन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिने प्रमुख चुनावी मुद्दा थियो ।

मेयर महराले चुनावी प्रतिवद्धता अनुसार जग्गा धनी पूर्जा वितरणलाई प्राथमिकता दिएर कार्य भइ रहेको जानकारी दिए ।

‘भूमि आयोगको काम भूमि आयोगको काम सरकार बददिने, आयोग बदलिने जटिलताबाट केही समस्या छ’ उनले भने,‘पहिलाको तुलनामा अहिले यो काम निकै प्रगति भएको छ, पहिला एक वडामा नापी भएको थिएन, अहिले ४ वडामा नापी सकिएको छ, यो उपलिब्ध नै हो ।’

मेयर महराले भूमि आयोगले जग्गा नापजाँचका लागि प्राविधिकलाई नगरपालिकामा खटाएको बताए ।

शैक्षिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गरिएको मेयर महराले बताए । शिक्षक दरबन्दी मिलान, विषयगत शिक्षकलाई प्रधानाध्यापक नियुक्ति, कक्षा ८ र एसईई परीक्षाको नतिजा सुधार लगायतका कार्य गरिएको मेयर महराले बताए ।

तीन वर्षमा ९३ कानुन निर्माण गरिएको पत्रकार सम्मेनलमा उप मेयर कल्पना पन्तले जानकारी दिइन् ।

एकीकृत फोहरमैला व्यवस्थापन कार्य पूरा भएर सञ्चालनमा आउने तयारी भएको मेयर महराले बताए । फोहरमैला व्यवस्थापन केन्द्र तीन वर्ष ठेकेदार कम्पनीले सञ्चालन गर्ने सम्झौता अनुसार कार्य अघि बढ्ने उनको भनाई छ ।

शुक्लाफाँटा नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको र अहिले थारु आलु उत्पादनमा किसानको आकर्षण बढेको महराले बताए ।

उनका अनुसार नगरपालिका २÷३ वडाका वासिन्दाले व्यवसायिक रुपमा थारु आलु खेती गरेका छन् । केही वडाका वडा अध्यक्षहरु आलु खेतीमा लागेका छन् । ‘अहिले यो आलु महेन्द्रनगर, धनगढी हुँदै पहाडी जिल्लासम्म पुग्ने गरेको छ’ उनले भने ।

शुक्लाफाँटा नगरपालिका नयाँ प्रशासकीय भवन निर्माण, नगर स्तरीय कभर्ड हल र शुक्लाफाँटा १ बन्साह कभर्ड हल निर्माण कार्य सम्पन्न गरी सञ्चालनलाई उपलब्धिमा समावेश गरिएको छ ।

तीन वर्षमा १९ किलोमिटर सडक ट्रयाक खोल्ने कार्य, ४० किलोमिटर सडक ग्राभेल, ३३ किलोमिटर सडक स्तरोन्नति, ४ किलोमिटर सडक कालोपत्र गरिएको पत्रकार सम्मेनलमा जानकारी दिइयो ।

चुनावी वाचा अनुसार नगर चक्रपथ निर्माणमा प्रगति हासिल गरिएको छ । त्यस अन्र्तगत शुक्लाफाँटा १२ कालागौड़ीदेखि जोनापुरसम्म ५।९ किलोमिटर, वार्ड नं ७ समूह चौराहादेखि नहरसम्म ७०० मिटर कालोपत्रे गरिएको छ । यस्तै, चक्रपथ अन्तर्गत नै वार्ड नं ८ भमरभोज नगर चक्र पथ खण्ड १ किलोमिटर पानीपिच गरिएको छ ।

नगरपालिकाबाट ३ किलोमिटर नाली निर्माण भएको छ भने २ किलोमिटर बढी नदी नियन्त्रण तटबन्ध निर्माण गरिएको छ। २ नं वडामा खानेपानी आयोजना निर्माण भएर ५ सय १० घरमा धारा जडान भएको छ।

वडा नं १० मा मञ्च प्याराफिट निर्माण, वडा नं। ३,४ र ६ नम्बर वडा कार्यालय भवनको निर्माण, ३ र ६ नम्बरको वडा कार्यालय भवन सञ्चालन गरिएको छ ।

नगरपालिकाको वडा नं। ३,७ र ९ नं वडामा ३ वटा स्वास्थ्य संस्था भवन निर्माण र १० नं वडामा शहरी स्वास्थ्य भवन निर्माणाधिन रहेको पत्रकार सम्मेनमा जानकारी दिइएको छ ।

आयुर्वेद विज्ञानलाई टेवा पु¥याउन वडा नं १० मा योग भवन निर्माणाधीन छ। सामुदायिक विद्यालय पूर्वाधार विकास अन्तर्गत ४ कोठे ३ वटा भवन निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन छन् ।

कृष्ण माध्यमिक विद्यालय झलारीमा आधुनिक तथा सुविधासम्पन्न छात्रावास भवन निर्माणाधिन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

५,७ र १० नं वडामा सामुदायिक भवन निर्माणाधिन अवस्थामा रहेका छन् । ७ नं वडामा तेक्वान्दो प्रशिक्षण भवन निर्माणका लागि सम्झौता गरिएको छ ।

४ वटा सामुदायिक विद्यालयको सुरक्षाका लागि पक्की घेरबार पर्खाल निर्माण गरिएको छ भने आधुनिक सुविधासम्पन्न शौचालय समेत निर्माणाधिन अवस्थामा रहेको छ ।

नगरपालिकामा तीन सय सडक बत्ति, ११ सोलार बत्ति र १० वटा हाईमास्ट लाईट जडान गरिएको छ । ७ र ९ नं वडामा २ वटा मल्टीस्पान ट्रस पुल निर्माण गरिएको छ ।

नगरभित्रका निर्माण योजनाको गुणस्तर चेकजाँचका लागि मेसिन खरिद गरी प्रयोगमा ल्याइएको छ । निर्माणसम्बन्धीका सवारी साधन टिप्पर–१, ट्रयाक्टर–१ सेप्टी टंकी सफा गर्ने मेसिन–१ र पानी टंकी–१ खरिद गरिएको छ ।

ढल निकास र डुवानको समस्या हल गर्न यस अवधीमा १०० वटा ह्युमपाईप खरिद गरिएको छ। पर्यटन प्रवद्र्धनका लागि मणिकाधाम–बतासे झरना ३।५ किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ ।

नगरपालिका अन्तर्गतका मुख्य चौराहमा सुरक्षाका निम्ति सीसीटिभी जडान गरिएको छ। ८ नं वडाको गौडी खोलामा नदीजन्य पदार्थ उत्खनन तथा संकलनको ठेक्का व्यवस्थापन गरी ४५ लाख रुपैँया राजस्व संकलन गरिएको छ।

मानव–वन्यजन्तु द्वन्द्ध व्यवस्थापन गर्न जंगली जनावर प्रभावित क्षेत्रहरुमा ७।४५ किलोमिटर मेषवायर घेरबार जडान गरिएको छ ।

एडीबीको अनुदानमा क्षेत्रीय शहरी विकास आयोजना मार्फत सञ्चालनमा रहेका १, २ र ३ सडक खण्ड र फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य भएको छ ।

सुरक्षित नागरिक आवास कर्यक्रममार्फत २५३ जनालाई ३० हजार रुपैँयाका दरले अनुदान दिइएको छ। १२८ जनालाई ५० हजार रुपैँयाका दरले अनुदान दिइएको छ ।

वडा नं। १० सिमलखेत दलित वस्तिमा ११ वटा आवास घर निर्माणको क्रममा रहेका छन । १२ नं वडामा अधुरो सङ्ग्रहालय निर्माण कार्य सम्पन्न गरिएको छ ।

नगरपालिकाभरी सिँचाईका लागि १ सय २० बोरिङ्ग जडान गरिएको छ। बजार व्यबस्थापनका लागि ढल निकास तथा नाली निर्माण गरिएको छ ।

पूर्वपश्चिम लोकमार्गको सडक अधिकार क्षेत्र खाली गराउने कार्य गरिएको छ । बजार क्षेत्रमा फोहोरमैला व्यवस्थापन प्रणालीलाई स्थापित गर्दै नगरपालिकाबाट हुने फोहोर उत्सर्जनलाई शून्यमा लैजान प्रतिबद्ध रहेको नगर प्रमुख महराले बताए ।

कञ्चनपुरमा पत्रकार सम्मेलन गरी तीन वर्षको उपलब्धि सार्वजनिक गर्ने महरा पहिलो मेयर हुन् । उनी एमालेबाट निर्वाचित भएका हुन् ।

कञ्चनपुरका दुई गाउँपालिका र सात नगरपालिका गरी ९ स्थानीय तह छन् । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, वडा नं। १ का वडा अध्यक्ष उत्तरदेब भट्ट, ८ का वडा अध्यक्ष बहादुर महरा, ९ का वडा अध्यक्ष रमेश ऐर लगायतका सहभागी भए ।

ताजा समाचार

सम्बन्धित समाचार