पत्रकार कुँवरलाई समाचार लेखेको निहुँमा गालीगलौजदेखि ज्यान मार्ने धम्कीसम्म ।।

Published by:

Published on:

महेन्द्रनगर १२ असार । कञ्चनपुरकी एक पत्रकारलाई समाचार लेखेको निहुँमा गालीगलौजदेखि ज्यान मार्ने धम्कीसम्म आएको छ । पत्रकार महासङ्घ कञ्चनपुरकी सदस्य तथा आभाष डटकम र ए के थ्री फेसबुक पेजकी कार्यकारी सम्पादक ऐश्वर्या कुँवरले आफूलाई गायत्री टुर एण्ड ट्राभल्स कर्मचारीहरूले धम्की दिएको दाबी गरेकी छिन् ।

कुँवरका अनुसार केही दिनअघि महाराष्ट्रको एक ढावामा नेपाल(भारत आवागमनका यात्रुहरूलाई १२ घण्टासम्म अलपत्र पारिएको सम्बन्धी प्रमाणसहितको भिडियो सामग्री सार्वजनिक गरेपछि धम्की आउन थालेका हुन् । उनले यात्रुहरूकै आग्रहमा सार्वजनिक प्लेटफर्ममार्फत पीडाको आवाज उठाएको बताउँदै यो पत्रकारितामाथिको दबाब र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको आरोप लगाइन् ।

उनले भनिन्, “सम्पूर्ण प्रमाण र यात्रुको प्रतिक्रिया मसँग छन् । तथाकथित कर्मचारीहरूले मलाई बारम्बार फोन र म्यासेजमार्फत भिडियो हटाउन दबाब दिए, अपशब्द प्रयोग गरे र अन्ततः ज्यान मार्ने धम्कीसमेत दिए ।” कुँवरले भारतीय मोबाइल नम्बर प्रयोग गर्दै बेङलोरबाट सञ्चालित खत्री समूह ९जसमा जितेन्द्र खत्री, हर्कबहादुर बम, दीपक खड्का लगायत रहेका छन् ।० ले सामाजिक सञ्जालमार्फत समेत गालीगलौज र धम्की दिएको बताइन् ।

कुँवरको भनाइ अनुसार कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रनगरमा छ भने प्रमुख शाखा बेङलोर र अत्तरियाका प्रतिनिधिहरूले पनि भिडियो हटाउन अज्ञात व्यक्तिहरू प्रयोग गर्दै मानसिक त्रास सिर्जना गरेका छन् ।

यसअघि पनि कुँवरले जय मष्टा टुर एण्ड ट्राभल्स यात्रुहरूलाई भारतको चक्रपुरमा अलपत्र पारेको विषयमा रिपोर्टिङ गरेकी थिइन् । त्यसपछि सम्बन्धित पक्षले व्यवस्थापनमा चासो देखाएको र यात्रुहरू गन्तव्यसम्म पुगेको उनले बताइन् । कुँवरले आफूले सार्वजनिक गरेका सामग्रीमा कुनै भ्रम वा तथ्यहीनता नरहेको दाबी गर्दै गालीगलौज र धम्की दिने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीका लागि तयारी थालेको जनाएकी छन् । “पत्रकारमाथिको यस्तो व्यवहार लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र कानुनी शासन विपरीत हो । म यस विषयलाई अदालती प्रक्रियामा लैजाने छु,” उनले भनिन् ।

यस विषयमा गायत्री टुर एण्ड ट्राभल्स पक्षको धारणा लिने प्रयास गर्दा सम्पर्क हुन सकेन । यात्रु सेवा भन्ने जिम्मेवारी बोकेको ट्राभल कम्पनीको गतिविधि र त्यसका बारेमा पत्रकारको सत्य रिपोर्टिङलाई दबाउन खोज्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण हो । कानुनी र संस्थागत तहमा यो घटना बारे आवश्यक कदम उठाउनुपर्ने देखिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार