महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका चार सदस्य चयन भएका छन् । शुक्रबार अभिभावक भेलाबाट कमला पन्त, गणेश खत्री, अनिता खत्री र सन्तोस नेपाली सदस्य चयन भएका छन् ।
भेलामा दुई महिला सदस्य सहित चार सदस्यका लागि २२ जनाले आकाँक्षा देखाएका थिए । सदस्यका सबै आकाँक्षीहरुबीच छलफल गरी चार सदस्य चयन भएका हुन् ।
चार सदस्य चयनमध्ये कमला पन्त विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्वर्गिय अच्युत कलौनीकी धर्मपत्नि हुन् । व्यवस्थापन समितिका तीन वर्षे कार्यकाल पूरा गर्न नपाउँदै गत वर्ष माघमा कलौनीको निधन भएको थियो ।
कलौनीको निधनपछि ज्येष्ठ सदस्य भोजराज जोशीलाई कार्य वाहक बनाइएको थियो । भेला सदस्य पदका आकाँक्षी गणेश नेगीले अच्युत कलौनीले विद्यालय सुधारका लागि दिएको योगदानको सहाराना गरे । उनले कलौनीले थालेको विद्यालय सुधार अभियानले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।
आकाँक्षीहरुबीच सहमतिपछि नेगी पछि हटेका छन् । व्यवस्थापन समिति सदस्यका आकाँक्षी नबराज भट्ट शिक्षक अभिभावक संघ अध्यक्ष भएका छन् ।
शिक्षक अभिभावक संघ सदस्यमा कमल नेपाली, भुनवेश्वर चटौत, लोकेन्द्र सिह बोहरा, मनिराम भट्ट, पूजा महत उपाध्यय, चुडामणी भट्ट र पुष्पा पन्त भट्ट सदस्य चयन भएका छन् ।
भेलामा भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशी, विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज जोशी लगायत अभिभावक, शिक्षक, कर्मचारी सहभागी भएका छन् ।
विद्यालयका लेखा अधिकृत लक्ष्मणदत्त भट्टले कार्यक्रम सञ्चालन गरे । भेलाबाट चार सदस्य मनोनयनपछि शिक्षक प्रतिनिधि र दुई सदस्य मनोनयन गरी अध्यक्ष चयनको प्रक्रिया अघि बढ्ने छ ।
शिक्षक प्रतिनिधि चयन गरी दुई सदस्य मनोनित प्रक्रिया अघि बढाउनु पर्ने व्यवस्था छ ।
शिक्षक प्रतिनिधि चयन भएपछि उनी सहित चार सदस्यले चन्दादाता वा समाजसेवीबाट दुई सदस्य मनोनित गरी अध्यक्ष चयनको प्रक्रिया अघि बढाउन सक्ने छन् ।
समितिमा विद्यालयका प्रधानाध्यापक पदेन हुने व्यवस्था छ । त्यस बाहेक सम्बन्धित वडा कार्यालयका प्रतिनिधि पनि समितिमा पदेन सदस्य हुने प्रावधान छ ।
बैजनाथ कञ्चनपुरको सबैभन्दा पूरनो विद्यालय हो । विद्यालयमा डेढ हजार विद्यार्थी अध्ययनरत छन् ।