अनिल पन्त धनगढी । जहाँ सेवा मनबाट हुन्छ, त्यहाँ परिवर्तनको सुरूवात अवश्य हुन्छ।लक्ष्मी बोगटी कुँवरको जीवन यही सन्देशको ज्वलन्त उदाहरण हो। संवेदनशील हृदय, सशक्त सोच र निस्वार्थ समर्पणले भरिएको उनको यात्राले सुदूरपश्चिमका कैयौं जीवनहरूमा आशा, उज्यालो र आत्मबल बोकेको छ।
डोटी जिल्लामा जन्मिएकी र हाल कैलालीलाई आफ्नो स्थायी ठेगाना बनाएकी लक्ष्मी बोगटी कुँवर आज सुदूरपश्चिमको मात्र होइन, सम्पूर्ण नेपाली समाजको गौरव बनिसकेकी छन्। उनी सुदूरको आवाज, चेतना र मानवीय मूल्यहरूको जिउँदो प्रतीक हुन्।
गाउँबस्तीका पीडित, विपन्न, असहाय र आवाजविहीनहरूका जीवनमा आशाको प्रकाश फैलाउँदै उनले देखाएकी छन् — सेवा भनेको चार भित्ताभित्र होइन, जहाँ दुख छ, त्यहीँ पुग्ने जिम्मेवारी हो।
एक महिलाका रूपमा उनले नेतृत्व गर्न सकिन्छ भन्ने कुरा प्रमाणित मात्र गरेनन्, सशक्त महिला नेतृत्वको आदर्श स्थापित गरिन्। विपद्का बेला – चाहे भूकम्प होस्, बाढी होस् वा महामारी – उनको सक्रियता, सेवा र समर्पणले हजारौं जीवनमा भरोसा जगाएको छ। राहत, उपचार, पुनःस्थापना र आत्मबल दिने कार्यमा उनी सधैं अगुवा बनेकी छन्।
लक्ष्मी बोगटी कुँवर आँसु पुछ्न पुग्छिन्, घाउमा मल्हम लगाउन जान्छिन् र जीवनमा निराशा छरिएका अनुहारहरूमा आशाको दियो बालिदिन्छिन्। सामाजिक अन्याय, विभेद र मौन पीडाका विरुद्धमा उनी दृढताका साथ उभिन्छिन्। उनी निराशाको अँध्यारोमा आशाको उज्यालो बोकेर हिँड्ने नायक हुन्।
उनको प्रेरणा बनेको छ– आफ्नै आमाको संघर्षमय जीवन र समाजको भोगाइ, जसले उनलाई जीवनको मूल मन्त्र दिएको छस्
“जहाँ आवश्यकता छ, त्यहीँ पुगेर सेवा गर्नुपर्छ।”
यस सेवाभाव र समर्पणको कदर गर्दै उनलाई थुप्रै सम्मानहरू प्रदान गरिएका छन्। तीमध्ये २०७९ सालमा दिइएको ‘राष्ट्रिय सेवा पुरस्कार’ विशेष रूपमा उल्लेखनीय छ, जसले उनको मानवीय मूल्य, नेतृत्व क्षमता र सामाजिक योगदानलाई औपचारिक मान्यता दिएको हो।
आज लक्ष्मी बोगटी कुँवर एउटा नाम मात्र होइनन् – उनी जीवनशैली हुन्। परिवर्तनको लागि सधैं तत्पर, समाजप्रति समर्पित र नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत हुन्। उनीजस्ता निस्वार्थ हातहरूलाई समर्थन गर्नु, सहकार्य गर्नु र सम्मान गर्नु आजको आवश्यकता हो, ताकि भोलिको समाज अझै समावेशी, न्यायपूर्ण र सम्भावनायुक्त बन्न सकोस्।
हामी सबैले उनीबाट सिक्न सक्ने मुख्य कुरा के हो भने –
सामान्य परिवेशबाट पनि असामान्य कार्य सम्भव छन्, सेवा कहिल्यै सानो हुँदैन, र नेतृत्वका लागि पद होइन, सोच आवश्यक हुन्छ।
