ठेकेदार विरुद्ध बेलडाँडीको कडा एक्सन : एकको ठेक्का खारेज, अर्कोलाई क्षतिपूर्तिको आदेश

Published by:

Published on:

कञ्चनपुर । विकास योजनामा चरम लापरवाही देखाउने निर्माण व्यवसायीहरूविरुद्ध बेलडाँडी गाउँपालिकाले कडा निर्णय लिएको छ । पालिकाले एक निर्माण कम्पनीको ठेक्का खारेज गरेको छ भने अर्को कम्पनीलाई क्षतिपूर्ति तिर्ने गरी बाँकी काम अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।श्री न्यू जोशी / नेपाल आदर्श डेभलपर्स जे.भी.ले वडा नं. ३ अन्तर्गत शिवनगर पुलदेखि बैवाह चौराहासम्मको आरसीसी सडक निर्माणको ठेक्का लिएको थियो। सार्वजनिक खरिद प्रक्रिया अनुसार ३ करोड १५ लाख लागत अनुमान गरिएको योजनाको ठेक्का २ करोड १० लाखमा सम्झौता गरिएको थियो ।तर, कम्पनीले सम्झौता शर्त उल्लंघन गर्दै पटक–पटक ताकेता गर्दा समेत काममा प्रगति नदेखाएपछि गाउँपालिकाले २०८२ असार २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) अनुसार ठेक्का खारेज गरेको हो ।कम्पनीको लापरवाहीका कारण योजना अलपत्र बनेको मात्र होइन, ७८ लाख रुपैयाँ फ्रिज हुन पुगेको छ । पालिकाले यो व्यवहारलाई जनहितमाथिको खिल्ली उडाउने कार्य भन्दै शून्य सहनशीलता देखाएको हो ।यसैगरी, श्री गणेश निर्माण सेवा, बेलौरी–४ ले बेलडाँडीको वडा नं. २ र ५ का वडा कार्यालय भवन निर्माणको जिम्मा लिएको थियो । तर तोकिएको समय २०८२ असार २० भित्र काम नसकिएको भन्दै पालिकाले २०८२ असार २५ को निर्णयअनुसार सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको हो । यस योजनामा पनि कम्पनीको लापरवाहीले गर्दा ३२ लाख ३२ हजार रुपैयाँ बजेट फ्रिज भएको छ ।पालिका स्रोतका अनुसार दुबै कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि गम्भीरता नदेखिएको, कार्य सम्पादन नगर्ने प्रवृत्तिले विकास योजना अवरुद्ध भएको र जनताको अमूल्य करको पैसा जोखिममा परेको उल्लेख गरिएको छ । “ठेक्का लिने तर काम नगर्ने’ प्रवृत्तिलाई सहेर बस्ने समय होइन, बेलडाँडीबासीको अपेक्षाअनुसार योजना कार्यान्वयनमा शून्य सहनशीलता अपनाएको जनाइएको छ ।”बेलडाँडी गाउँपालिकाको यस्ता ठेकेदारमाथिको कडा कारबाही विकासमा गम्भीरता नदेखाउनेहरूका लागि चेतावनी र अन्य पालिकाहरूका लागि अनुकरणीय अभ्यास बन्ने स्थानीयवासीहरूको भनाइ छ । जनताको करबाट सञ्चालित पूर्वाधार योजनाहरू समयमै सम्पन्न गराउन पालिकाले लिएको यो अडान सराहनीय छ ।

ताजा समाचार

सम्बन्धित समाचार