बेलडाँडी । भैंसीपालक किसान हरकिशन रानाको रहस्यमय हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता नलागेपछि बेलडाँडीमा आक्रोश विस्फोट भएको छ ।
सोमबार पीडित परिवार, आफन्त र गाउँलेहरुले इलाका प्रहरी कार्यालय बेलडाँडी घेराउ गर्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।
गत बैशाख ९ गते विहान बेलौरी नगरपालिका–१०, निर्मल आर्यघाट नजिक मोटरसाइकलसहित जलेको अवस्थामा हरकिशनको शव फेला परेको थियो । पीडित पक्षको आरोप छ — प्रहरी घटनामा संलग्न व्यक्तिलाई जोगाउन सक्रिय छ ।
“हामी राना सोझो जातिका भएकाले हाम्रो सोझोपनको फाइदा लिन खोजिएको हो,” आन्दोलनरत पक्षको गुनासो छ । उनीहरुले घटनामा प्रत्यक्ष संलग्नताको शंका बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथमाथि गरेका छन् ।
उनका अनुसार, “हरकिशनको भैंसीपालन अनुदानबाट आएको आएको ४० लाख मध्ये १२ लाखको चेक उपाध्यक्ष नाथले लिएकी थिइन्, त्यसैले हाम्रो शंका त्यहीँ केन्द्रित छ ।” तर उपाध्यक्ष नाथले आफू निर्दोष रहेको र संलग्नता देखिए कानुनी कारबाही भोग्न तयार रहेको बताएकी छन् । हरकिशनकै भरमा चल्दै आएको परिवार अहिले जीविकोपार्जन संकटमा परेको छ ।
विमा रकमको प्रक्रिया समेत अघि नबढ्दा पीडित परिवारमा निराशा गहिरिँदै गएको छ । “दोषी तत्काल पत्ता लागेन भने आन्दोलन बेलडाँडी मात्र होइन, कञ्चनपुरभर फैलाउनेछौं । अब सडक तताउने छौं, जिम्मा प्रहरी प्रशासनले लिनुपर्छ ।” भन्दै बेलडाँडी इलाका प्रहरी घेराउ देखि आन्दोलनको प्रारम्भ भएको छ ।
