ईटा उद्योगमा नयाँ नियम ःअध्यक्ष बुडालद्वारा कानून पालना गर्न आग्रह

Published by:

Published on:

महेन्द्रनगर । नेपाल ईटा उद्योग महासंघ, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिंह बुडालले प्रदेशका सम्पूर्ण ईटा उद्योगीहरूलाई नेपाल सरकारले तोकेको नयाँ मापदण्ड र कानूनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। पत्रकारहरूसँगको कुराकानीमा उहाँले सरकारको पछिल्लो निर्णयअनुसार ईटा उद्योगहरूलाई थप व्यवस्थित र वातावरणमैत्री बनाउन लागिएको बताउनुभयो।

अध्यक्ष बुडालले सरकारको निर्देशनअनुसार यस वर्षदेखि देशभरका ईटा उद्योगहरूले पुस मसान्त पछि मात्र ईटा पोल्ने ९फायरिङ० कार्य सुरु गर्नुपर्ने जानकारी दिनुभयो। “सरकारले वातावरणीय प्रदूषण, विशेषगरी हिउँदमा देखिने बाक्लो हुस्सु र धुवाँको समस्यालाई न्यूनीकरण गर्न यो निर्णय लिएको हो,” उहाँले भन्नुभयो, “हामीले सरकारको यस सकारात्मक कदमलाई स्वागत गर्दै कानूनको पालना गर्नु हाम्रो कर्तव्य हो।”

उहाँले थप्नुभयो, “पुस महिनामा अत्यधिक चिसो र हुस्सुका कारण प्रदूषणको स्तर उच्च हुने भएकाले माघदेखि फागुनमा मौसममा केही सुधार आउने र हावा चल्ने हुँदा प्रदूषणको असर कम हुने विश्वास लिइएको छ। यसले जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्नेछ।”

यसैगरी, अध्यक्ष बुडालले सरकारले परम्परागत र अत्यधिक प्रदूषण फैलाउने भुसे भट्टा हरूलाई पूर्ण रूपमा बन्द गर्न र सञ्चालनमा रोक लगाउने निर्देशन दिएको पनि स्पष्ट पार्नुभयो। “अब हामीले वातावरणमैत्री र आधुनिक प्रविधिमा जानुको विकल्प छैन। पुराना प्रविधिले हाम्रो स्वास्थ्य र वातावरण दुवैलाई असर गरिरहेको छ,” उहाँले भन्नुभयो। जिल्ला प्रशासन कार्यालयहरूले समेत यस्ता उद्योगहरूलाई अविलम्ब बन्द गर्न सूचना जारी गरिसकेको सन्दर्भमा अटेर गरी सञ्चालन गरेमा कानूनी कारबाही भोग्नुपर्ने उहाँले चेतावनी दिनुभयो।

अध्यक्ष बुडालले उद्योगीहरूलाई आइपर्ने समस्या समाधानका लागि महासंघले सरकारसँग समन्वय र सहकार्य गरिरहेको बताउँदै अल्पकालीन रूपमा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसले समग्र ईटा उद्योग क्षेत्रलाई नै फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। सो पत्रकार सम्मेलनमा प्रदेश कोषाध्यक्ष सुरज श्रेष्ठ लगायत विभिन्न ईटा उद्योगीहरुको उपस्थिति रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार