महेन्द्रनगर । शनिवार कञ्चनपुरको सीमा क्षेत्रमा रहेको बनबासा पुलमा भारतीय ट्याक्सी चालकहरूले ‘नेपाली प्रशासन मुर्दावाद’ को नारा लगाए । नेपाल भित्र भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सी चलाउन दिनुपर्ने उनीहरूको माग थियो ।
भारतमा पहेँलो नम्बर प्लेटका सवारी साधन यात्रु बोल्ने अनुमति प्राप्त सवारी साधन हुन । नेपालमा भारतीय सवारी साधन निश्चित दस्तुर तिरेर एक आर्थिक वर्ष भित्रमा एक महिना चलाउन मिल्ने भए पनि यात्रु बोक्न पाइँदैन । तर, यात्रु बोक्ने उद्देश्यले भारतमा दर्ता भएका ट्याक्सीले भने नेपाली प्रशासनकै उदासीनताका कारण नेपालभित्र निर्बाध रूपमा यात्रु ओसारी रहेका थिए
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल नेतृत्वको यातायात व्यवस्थापन समितिको बैठकले यही जेठ ७ गते भारतमा दर्ता भएका र दुर्घटना बिमा नभएका ट्याक्सीलाई नेपालमा यात्रु ओसारपसार गर्न नदिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्ने क्रममा नेपाली सीमामा भारतीय पहेँलो नम्बर प्लेटका यात्रुवाहक ट्याक्सी रोकिएपछि शनिवार उनीहरूले ‘नेपाली प्रशासनले गुन्डागर्दी’ गरिरहेको नारा लगाए ।
पवनदुत यातायात व्यवसाय समिति अध्यक्ष महेश बोहराले २०७९ चैत्रमा पनि गोपाल प्रसाद अधिकारी सिडिओ हुँदा विदेश अथवा भारतमा दर्ता भएका गाडी नेपालमा सहज तरिकाले चल्न पाउने तर, नेपालमा व्यापार व्यवसाय गर्न नपाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको बताए ।
िउनले व्यवहारिक रूपमा भारतीय पहेँलो नम्बर प्लेटका गाडी महेन्द्रनगर सम्म यात्रुलाई पु(याउन आउन दिने गरिएको भए पनि उनीहरूले यहाँबाट यात्रु ओसार्न थालेपछि विरोध गरेको बताए ।
‘उतीबेला यात्रु लग्दैनौ यात्रु झार्न आउनु दिनुपर्यो भनेपछि हामीले छिमेकी देश हो भनेर बसपार्कमा समेत शुल्क नलाग्ने गरी आउन दियौ’ उनले भने ‘वहाँहरू होटलहरु सँग सेटिङ गरेर यहाँबाट यात्रु लग्न थाले । होटललाई प्रतिव्यक्ति १ सय कमिसन दिने, उताबाट होटलका लागि सामान ल्याउन थालेपछि विरोध गरेका हौ ।’
उनले नेपालको कालो प्लेटको ट्याक्सी एसएसपीले भारतमा जान नदिने गरेको बताए । उनले भारतबाट पहेँलो नम्बर प्लेटको गाडी भने नेपालमा आएर यहाँको नियम नमानेर चल्न थालेपछि नेपाली यातायात व्यवसाय धरापमा पार्न थालेको बताए ।
‘सङ्घीय सवारी ऐन २०४९ को दफा ३० र सुदूरपश्चिमको यातायात व्यवस्था ऐन २०७९ को दफा ३४ मा विदेशमा दर्ता भएका सवारी साधन नेपालमा चल्न पाउने तर, नेपालमा व्यापार गर्न नपाउने व्यवस्था छ’ उनले भने ‘अहिले भारतीय नम्बर प्लेटका गाडीका मालिक नेपाली बनेका भए पनि भारतमा दर्ता भएका गाडीमा यो नियम लागु हुनुपर्यो ।’ उनले कतिपय दोहोरो नागरिकता भएका, आधार कार्ड, लाइसेन्स भारतीय भएकाहरूले पनि नेपालमा भारतीय गाडी चलाइरहेको बताए । उनले महेन्द्रनगर बजार क्षेत्रमा मात्रै डेढ सयको सङ्ख्यामा भारतीय नम्बर प्लेटका गाडी चल्ने गरेको बताए ।
अहिले धेरैजसो महेन्द्रनगरमा चल्ने ट्याक्सीका मालिक नेपाली नै भए पनि उनीहरूले भारतीयको नाममा दर्ता गरेका छन् । यसरी डमी मालिक बनेर सीमामा पहेँलो नम्बर प्लेटका गाडी चलाइरहेका उनीहरूले नेपालमा काम गर्न पाउनु पर्ने माग गर्दै प्रशासनलाई दबाब दिँदै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले महेन्द्रनगर बजार भरी छ्यापछ्याप्ती २४ घण्टा पहिलो नम्बर प्लेटका भारतीय गाडी चल्न थालेपछि नियन्त्रण गर्न खोजिएको बताए । ‘यहाँ महेन्द्रनगर बजार भरी छ्यापछ्याप्ती २४ घण्टा गुडिरहेका छन् । अति नै भएपछि विरोध पनि धेरै भयो । त्यसपछि अरू उपायले कन्ट्रोल नभएपछि नेपालको सिमाना भित्र पहेँलो नम्बर प्लेटको भारतीय ट्याक्सीलाई आउन रोक लगाइएको हो’ उनले भने ‘ट्याक्सी भारतीय नम्बर प्लेटका भए पनि मालिक नेपाली छन् । रजिस्टर आफ्नो नाममा नभए पनि नेपाली डमी मालिक छन् । सीमामा पहेँलो नम्बर प्लेटका ट्याक्सी रोकिएपछि व्यवसायमा घाटा हुन थालेपछि उनीहरूले विरोध गरेका हुन ।’ साभार : अत्तरिया खबर डट कम

