अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले आज मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ।
डार्विनको पार्मर्स्टनस्थित काजालिस एइनामा हुने खेल नेपालाी समय अनुसार सवा ११ बजे सुरु हुनेछ। नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ। नेपाल तालिकाको नवौं स्थानमा छ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
मंगलबार भएको चौथो खेलमा भने नेपालले हुबर्ट हरिकेन्स माथि ६६ रनको फराकिलो जित हात पारेको थियो। नेपालले जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
मेलबर्नले भने ३ खेल खेल्दा २ जित निकालेको छ। ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन्। नेपाल हाल ४ खेलमा २ अंक जोडेर आठौं स्थानमा छ। नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग अन्तिम खेल खेल्नेछ।
यो सिरिजपछि नेपालले थप पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको हो।
नेपालले भदौ १० गते सीटीविरुद्ध दुई टी–२० खेल खेल्नेछ। त्यसपछि भदौ १२ गते साउथ अस्ट्रेलियाविरुद्ध पुनः दुई टी–२० खेल्ने छ । त्यसको २ दिनपछि नेपाल र साउथ अस्ट्रेलियाले १ एकदिवसीय खेल खेल्ने छन्।
अष्ट्रेलिया भ्रमण सकेर नेपाली टोलीले यएई जाने छ। शारजाह क्रिकेट रंगशालामा नेपाली टोलीले असोज ११, १२ र १४ गते दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।
यस ऐतिहासिक सिरिज पछि नेपालले ओमानमा आयोजना हुने आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट खेल्ने छ।
छनोट प्रतियोगितामा नेपाल समूह २ मा छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ।
समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।
प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
यो छनोट प्रतियोगिता असोज २२ देखि ३१ सम्म चल्नेछ। यस प्रतियोगितामा रहेका नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनीले यसअघि पनि टी–२० विश्वकप खेलिसकेका छन्।