बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ फेरि विवादको केन्द्रमा आएकी छिन् । एकपछि अर्को कमजोरीलाई ढाकछोप गर्ने नाममा दादागिरी शैली प्रदर्शन गर्दै आएकी उनले यसपटक आफ्नै कार्यकक्षलाई “अनौपचारिक अनुसन्धान केन्द्र” मा रूपान्तरण गरिन् । जो बोल्यो, त्यसलाई धम्की दिने स्वभावले चिनिने नाथले यसअघि पालिकाको सरकारी गाडीको चावी थुतेर “तेरो अध्यक्षको घाँटी च्यापेर मारिदिन्छु” भन्ने धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि ठूलो आलोचना खेप्नु परेको थियो ।
त्यही अडियो कसले बाहिर ल्यायो भन्ने खोजीमा उनले पालिकाका केही कर्मचारीलाई लाइनमै उभ्याएर मोबाइल थुतेर एकएक गर्दै भित्र बोलाई निरंकुश शैलीमा स्पष्टिकरण सोधेको खुलासा भएको छ । कर्मचारीहरूको भनाइ अनुसार नाथले ती कर्मचारीलाई “मैले बोलेको अडियो पत्रकारसम्म पुग्ने हिम्मत कसले ग¥यो ? जागिरबाट निकालिदिन्छु” भन्दै मोबाइलमै चेक गर्न लगाइन् । पाँच जना कर्मचारीमाथि गरिएको यस किसिमको निरंकुश शैलीको कारबाहीले बेलडाँडी गाउँपालिकामा त्रास फैलिएको छ ।
सार्वजनिक अडियोमा स्पष्ट सुन्न सकिन्छ—नाथको आक्रोशित स्वर, छाडा शब्द, र धम्कीपूर्ण अभिव्यक्ति । तर, त्यसबारे आत्मालोचना वा क्षमायाचनाको साटो उनले उल्टै कर्मचारी र पत्रकारमाथि नै दोष थोपरेकी छन् । अडियो प्रकरण सार्वजनिक भएको भोलिपल्ट नाथले बेलडाँडीमै पत्रकार सम्मेलन बोलाइन ्। तर, सो कार्यक्रममा बेलडाँडीका करिब एक दर्जनभन्दा बढी स्थानीय पत्रकार र नेपाली काँग्रेस आवद्ध प्रेस युनियनका पत्रकारहरुलाई नै निमन्त्रणा नगरिएको थियो ।
पत्रकारहरूकै भनाइमा—“हामीलाई बाहिर राख्नुको कारण एउटै हो, सत्य उजागर गर्न सक्ने डर ।” नाथले कार्यक्रममा अडियोबारे प्रष्ट जवाफ दिनुको साटो उल्टै आरोप–प्रत्यारोपमै समय बिताइन् । यसरी स्थानीय पत्रकारलाई अलग्याइएको घटनाले बेलडाँडीबासीमाझ उनको स्वभाव र शैलीबारे अझै ठूलो प्रश्न उठाएको छ । नाथको विवाद यतिमै सीमित छैन ।
गाडी दुरुपयोगको आरोप तिनले बारम्बार खेप्दै आएकी छन् । खासगरी, आउँदो १० गते पर्ने तीजको दर खान उनले यसै भाद्र १ गते, सार्वजनिक विदाको दिनमै बेलौरीस्थित शोभा तालमा सरकारी गाडी चढेर गएको प्रमाण भेटिएको छ । सोही दिन गाउँपालिका प्रवक्ता गजबहादुर बिष्टलाई महेन्द्रनगरसम्म उनकै निर्देशनमा छोड्न लगाएको खुलासा भएको छ ।
सार्वजनिक विदामा सरकारी गाडी निजी प्रयोजनमा प्रयोग हुनु नै गैरकानुनी मानिन्छ । तर, आफैं धामी आफैं झाँक्री बन्दै आएकी उपाध्यक्ष नाथ यसमा भने ‘गाडी दुरुपयोग भयो’ भनेर अरुलाई दोषारोप गर्न पछि पर्दिनन् । त्यति मात्र होइन आफैले पाटी खान लगेको गाडीमा चुरोटको बट्टा भेटिनु के अस्वभाविक थियो र ?
बेलडाँडी गाउँपालिकामा रहेको सरकारी गाडी कर्मचारीदेखि जनप्रतिनिधी सबैले आवश्यकता अनुसार प्रयोग गर्दै आएका छन् । तर, उपाध्यक्ष नाथको व्यवहार र कार्यशैलीले अब प्रश्न उठेको छ—“गाडी भन्दा ठूलो समस्या त उपाध्यक्षकै स्वभाव र कार्य हो कि ?” कर्मचारीहरू त्रासमा छन्, जनप्रतिनिधीहरू हैरान छन्, र अब सामान्य जनता समेत असहज महसुस गर्न थालेका छन् ।
गाउँपालिकाका नागरिक भन्छन्, “नियम कानुन तोडेर, धम्की दिएर, अनि उल्टै पत्रकार र कर्मचारीलाई दोष दिएर बेलडाँडी चल्दैन ।” यसैबीच, उपाध्यक्ष शान्ति नाथलाई हामीले घटनाको वास्तविकता के हो भनेर बुझ्नका लागि आज बिहान शुक्रवार ७ः४४ मिनेट जादा कल गरेका थियो, उनले १३ सेकेण्ड कल उठाएर नबोली आफैले काटि दिए, त्यस पछि ४५ मिनेट जादा पनि हामीले कल गयौं घण्डी गयो तर उनको कल उठ्न सकेन ।