महेन्द्रनगर । भारतबाट अवैध रूपमा भित्रिइरहेका कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ । प्रहरीले सोमबार ब्रह्मदेव क्षेत्रबाट बरामद गरिएका कुखुराका चल्ला नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार ३ सय ६० गोटा चल्ला नष्ट गरिएको हो । उनका अनुसार पछिल्लो समय नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा वर्ड फ्लुको संक्रमण देखिएपछि नाकामा कडाइ सँगै सतर्कतासमेत अपनाइएको छ ।
‘बरामद गरिएका चल्ला सबै नष्ट गरिएको छ,’ डीएसपी बोहराले भने, ‘भारतमा वर्डफ्लुको संक्रमण देखिएकाले सबैले सतर्कता अपनाउनु पर्छ ।’
भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । वर्ड फ्लुको संक्रमण देखिएपछि नाकामा कडाइ गर्नुपर्ने र कुखुरा व्यवसायीहरू सचेत हुनुपर्ने पशु क्वारेनटाइन चेक पोस्ट गड्डाचौकीका पशु स्वास्थ्य प्राविधिक धनकृष्ण अधिकारीले बताए ।