नेपाली भूमिमा भारतीय मिडियाको नांगो हस्तक्षेप, सिडियो भन्छन् थाहा छैन

Published by:

Published on:

ऐश्वर्य कुवर महेन्द्रनगर । भारतीय पत्रकारहरूले आधिकारिक निकायसँग अनुमति नलिई आइतबार नेपाल प्रवेश गरेर पश्चिमी सिमा नाका गड्डाचोकीमा आई रिपोर्टिङ गरेको श्रव्यदृश्य सामग्री फेला परेको छ ।

भारतीय मिडियामा कार्यरत केही पत्रकारहरू कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० र ११ को पश्चिम सिमा नाका गड्डाचौकी क्षेत्रमा आई हाल नेपालमा बन्द अवस्थामा रहेको सामाजिक सञ्जालको विषयमा रिपोर्टिङ गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएको हो । यो नाका भारतसँग जोडिएको सबैभन्दा नजिकको नाका मानिन्छ । भिडियोमा आइएएनएस र ईटिभी भारत लेखिएको बुम बोकेका पत्रकारहरूले सर्वसाधारणहरूलाई सामाजिक सञ्जाल बन्द भएकोमा कस्तो समस्या भएको छ भन्दै प्रतिक्रिया लिएको देखिन्छ ।

नेपालको भूमिमा पत्रकारिता गर्न कुनै पनि विदेशी नागरिकले नेपालको सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्ने प्रावधान छ । उक्त कानूनी व्यवस्थाको बर्खिलाप गर्दै भारतीय पत्रकारहरु नेपालमा प्रवेश गरेर कानूनको धज्जी उडाउँदा पनि नेपालको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीहरुले उनीहरुलाई निर्वाध रुपमा रिपोर्टिङ गर्न दिएको देखिन्छ ।

कञ्चपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आफूलाई यस विषयमा कुनै पनि जानकारी नआएकाले यस विषयमा सूचना लिने बताए । यस विषयबारे थप बताउन चाहेनन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी खडगबहादुर खत्रीले यो विषयमा कुनै जानकारी नआएको बताए । उनले यसबारे तत्काल बुझ्ने बताए ।

कुनै पनि देशका पत्रकारहरू दोस्रो देशमा गई रिपोर्टिङ गर्नुपरेमा अनिवार्य सम्बन्धित देशको सूचना विभागलाई जानकारी गराउनुपर्छ । त्यसमा पनि कति दिनसम्म रिपोर्टिङ गर्ने र के विषयमा गर्ने भन्नेबारेमा समेत खुलाई निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

कञ्चनपुर जिल्लामा एक सय २९ किलोमिटर लामो खुला सीमा नाका रहेको छ । जसमा सुरक्षाका लागि कुल २२ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रहेका छन् । त्यहाँ आएका रिपोर्टरहरूले यस्ता कानूनी प्रावधानलाई उल्लंघन गर्दै सामाजिक सञ्जाल बन्द भएको विषयमा रिपोर्टिङ गरेका थिए । नेपाल सरकारको मन्त्रिपरिषद्ले बिहीबारदेखि फेसबुकसहित २६ वटा सामाजिक सञ्जालहरू बन्द गरिदिएको थियो ।

त्यसमध्ये हालसम्म नेपालबाटै सञ्चालन भएको हाम्रो पात्रो मात्रै सूचीकरणमा आएको छ भने अन्य सामाजिक सञ्जालहरू सूचीकरण हुन आएका छैनन् । यसै विषयमा रिपोर्टिङ गर्नका लागि भारतीय मिडियाका पत्रकारहरू नेपालको सीमाभन्दा करिब आधा घण्टा उत्तरी क्षेत्रमा आई रिपोर्टिङ गरेको भिडियो प्राप्त भएको छ । उक्त भिडियोमा सर्वसाधारणहरूसँग कुराकानी गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार