काठमाडौं । यात्रुहरूले हवाई उडानको भाडा मंहगो भएको गुनासो गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ। दसैंको टीकाको दिन सूचना जारी गर्दै प्राधिकरणले आन्तरिक उडानको भाडादर सार्वजनिक गरेको हो।
दसैँ, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक मागका कारण सहज उपलब्धता नहुने र महंगोमा बिक्री हुने सम्भावना न्यूनीकरण गर्न प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यका लागि अधिकतम भाडादर सार्वजनि गरेको जनाएको छ। सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ रहेको छ।
प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरूबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालालाई निर्देशन दिएको छ। प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणले न्यूनतम भाडादर भने उल्लेख गरेको छैन।
यता यात्रुको चाप हुँदा नियमित भाडादरमै उडान गर्न अन्तरिम सरकारले निर्देशन दिनुपर्नेमा प्राधिकरणले भाडादर सार्वजनिक गरेर वायु सेवा कम्पनीलाई थप प्रोत्साहन गरेको भन्दै आलोचना हुन थालेको छ।

