महेन्द्रनगर मंसिर १५ । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीको त्रिनगर–गौरीफन्टा नाका निरीक्षण गरेका छन् । आज बिहान धनगढी पुगेका मन्त्री अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँगै नाकाको निरीक्षण गरेका हुन् ।
सो क्रममा उनले नाकामा खटिएका सुरक्षाकर्मी, कर्मचारी र सर्वसाधारणसँग आवागमन र सुरक्षा अवस्थाबारे कुराकानी गरेका थिए । नाकामै खटिएका भारतीय सुरक्षाकर्मीसँग पनि मन्त्री अर्यालले कुराकानी गरेका थिए भने ‘फोटो सुट’ पनि गराएका थिए ।
नाकाको निरीक्षणपछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगर पुगेका गृहमन्त्री अर्यालले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गर्न र आवागमनलाई सहज बनाउन निर्देशन दिएका थिए । गृहमन्त्री नेतृत्वको टोलीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पनि निरीक्षण गरेको छ ।
गृहमन्त्री अर्याल आजै बीओपीको निरीक्षणका लागि कञ्चनपुर जाने कार्यक्रम छ ।
गृहमन्त्री भोलि सुदूरपश्चिमस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुनेछन् । सुरक्षा गोष्ठीकै लागि सशस्त्र प्रहरीका आईजीपी अर्याल धनगढी पुगिसकेका छन् भने गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की आज दिउँसो धनगढी पुग्ने कार्यक्रम छ ।
भोलिको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरू, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे सुदूरपश्चिम सरकारका तर्फबाट प्रतिवेदन पेस गरिनेछ । गोष्ठीमा २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुने बताइएको छ । साभार ः सिलापत्र
