महेन्द्रनगर २२ मङ्सिर । भिजिट भिषा प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ ।
नेपाली कांग्रेसका प्रभावसाली नेता समेत रहेका तत्कालिन गृहमन्त्री रमेश लेखकमाथि षड्यन्त्र रच्दै दैनिक रु ५० लाख संकलन हुने गरेको निराधार आरोप लगाइएको थियो ।सोही विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले महिनौ सम्म संसद अवरुद्ध गर्दै राष्ट्रिय राजनीतिमा भिजिट भिषा प्रकरण अनाहक उचालेको थियो ।
आफ्नो पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा जेल चलान गरिएको विषयमा प्रतिशोध साध्न रास्वपाले भिजिट भिषा प्रकरणलाई उचालेको थियो । तत्कालीन गृह मन्त्री लेखकको हालसम्मको अनुसन्धानमा कहिकतै संलग्नता नदेखिएको अख्तियार स्रोतले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । उनीसहित केही कर्मचारीमाथि मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।
“ भिजिट भिसा प्रकरणमा लेखकको कनेक्सन नै देखिएन ।” अख्तियार स्रोतले भन्यो–“ उक्त प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान गरियो ।”
लेखकको कनेक्सन कतैबाट पनि फेला नपरेकाले उनीसँग बयान नलिएको र प्रतिवादी पनि नबनाउने अख्तियार स्रोतको भनाइ छ ।
“ हामीले प्रतिवादी बनाउन चाहेर मात्रै भएन। कनेक्सन पनि देखिनु प¥यो। प्राविधिक उपकरण र अभिलेखहरुबाट उहाँको संलग्नता देखिएन। अनुसन्धानमा तानिएका अन्य प्रतिवादीले पनि उहाँलाई पोलेर बयान दिएनन्”, अख्तियार स्रोतले भन्यो, ‘कतैबाट पनि नजोडिएकाले उहाँसँग बयान लिएनौँ र प्रतिवादी पनि बनाउँदैनौँ।’
जेनजी आन्दोलनअघि लेखकलाई भिजिट भिसा प्रकरणको अनुसन्धान दायरामा ल्याउन माग गर्दै विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिस्कार गर्दै आएका थिए । सरकारले असारमा नै पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। तर रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन र लेखकको राजीनामा माग गर्दै आएका थिए । अख्तियारले भने त्यसअघिबाट नै भट्टराईसहितका कर्मचारी, ट्राभल कम्पनीका सञ्चालक र बिचौलियामाथि अनुसन्धान गरिरहेको थियो। अख्तियारको अनुसन्धानमा मुख्य क्लु नै भट्टराईको डायरी बनेको छ ।
अख्तियारले भट्टराईलाई पक्राउ गरे लगतै विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेर उपकरणहरु नियन्त्रणमा लिइएको थियो। ती सबै उपकरणहरुको डीएफएल रिपोर्ट र अन्य कागजात प्रमाणका आधारमा अख्तियारको अनुसन्धान निस्कर्षतर्फ पुगेको हो।
उजुरीपछि अनुसन्धान थालेको अख्तियारले झण्डै ८ महिना लगाएर अनुसन्धान टुंग्याउन लागेको जनाएको छ । “ कांग्रेसभित्र सम्भावना बोकका विद्धान नेता लेखकलाई सिध्याउन पार्टी भित्रका केही नेता र बाहिरि प्रतिपक्षमा रहेका केही दल नै लागे ।” नेपाली कांग्रेस कञ्चनपुरका एक नेताले भने–“ भ्रम र षड्यन्त्र अब छर्लङ्ग भइसक्यो ।”
पार्टी नेतृत्वको विश्वास जितेर तत्कालिन नेपाली कांग्रेस र नेकपा एमाले सत्ता गठबन्धनको सुत्राधार समेत रहेका नेता लेखकलाई आक्षेप लगाउने र राजनीतिमा सिध्याउन गिरोह नै सक्रिय रहेको थियो । भिजिट भिषा प्रकरणमा कर्मचारी छानविनमा आउँदैमा मन्त्रीले राजनीतिमा दिनु नपर्ने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता लेखकलाई बल दिएका थिए । भिजिट भिषामा नेपालीहरु नेपाल र छिमेकी मुलुकबाट बाहिरने क्रम भने दशकौं अघि देखि चल्दै आएको छ ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार दल विशेषले राजनीतिक प्रतिशोध साध्न भिजिट भिषा प्रकरणमा तत्कालिन मन्त्रीलाई जोडिएको बताउनुभयो ।“ यसअघि पनि लगातार भिजिट भिषामा विदेशिने क्रम थियो ।” उहाँले भन्नुभयो–“ २०६४ सालयता सुरु भएको भिजिट भिषामा अहिले आएर मात्रै मन्त्री जोडिनुमा पुर्वाग्रह स्पष्ट झल्किन्छ ।” उहाँले मन्त्री र मन्त्रालयका कुनै पदाधीकारी उक्त प्रकरणमा संकल्न नभएको बताउनुभयो ।
मन्त्रालयले पनि अध्यागमनको दीर्घकालिन सुधारका लागि गठित समितिको रायका आधारमा अघि बढ्ने जनाएको छ । अध्यागमको इमेज सुधारमा तत्कालीन गृहमन्त्री लेखकले नै अग्रसरता लिनुभएको थियो ।
