कञ्चनपुर उद्योग बाणिज्य संघमा लागि चुनाव लड्ने एक्ली महिला

Published by:

Published on:

महेन्द्रनगर । १२ पुसमा कञ्चनपुर उद्योग बाणिज्य संघमा १८ कार्यकारिणी समिति निर्वाचनमा सदस्यको मनोनयन दर्तापछि सरिता भण्डारी र पार्वती कुमारी विष्ट संघको प्राङ्गणमा महिला मतदातासंगै बसेका थिए ।

उनीहरुसंगै थिइन् संघकी पूर्व कोषाध्यक्ष निर्मला सापकोटा भट्ट । भट्ट निराश भएर बसेकी थिइन् । उनी महासचिव चुनाव लड्ने तयारी गरेकी थिइन् । पदाधिकारीमा सहमति भएपछि भट्ट महासचिव उम्मेदवार हुनबाट रोकिइन् ।

‘महासचिव हुने इच्छा थियो, सहमति भयो, एक जना महिला त कम्तिमा पदाधिकारी त हुनु पर्ने हो’ उनले भनेकी थिइन् ।

भट्टले उम्मेदवारी नदिएपछि संघका सचिव राहुल भट्ट महासचिवमा सर्वसम्मत भए ।

महासचिवकी आकाँक्षी भट्टसंगै बसेका सदस्यका उम्मेदवारद्वय भण्डारी र विष्टले आफूहरुले सदस्य चुनाव लड्ने बताएका थिए । दुईमध्ये विष्टले उम्मेदवारी फिर्ता लिएकी छन् । संघको सदस्यका लागि भण्डारी चुनावी मैदानमा छन् ।

भण्डारी सहित १३ उम्मेदवार सदस्यका लागि चुनावी मैदानमा छन् । उनीहरुमध्ये ७ सदस्य निर्वाचित हुने छन् । सदस्यका १३ उम्मेदवारमा भण्डारी एक्ली महिला उम्मेदवार छिन् । उनी संघका सबै व्यवसायीले आफूलाई सहयोग गर्नेमा विश्वस्त भएको बताइन् ।

‘मलाई सबैले सहयोग गर्न हुन्छ भन्नेमा आशावादी छु, म एक्लै महिला उम्मेदवार हो, संघमा महिला सहभागिता पनि हुनु पर्छ, यसमा सबै मतदाता जागरुक छन्’ उनले भनिन् ।

महेन्द्रनगर बजारको मदनचोकस्थित डालिमा सपिङ्गका सञ्चालक भण्डारी पहिलो पटक संघको निर्वाचन लड्न लागेकी छन् । यस अघि उनी संघको मतदाता मात्रै थिइ । उनी २०६५ देखि व्यापार व्यवसायमा संलग्न छिन् ।

भण्डारी पत्रकारिता पृष्ठभूमिबाट व्यवसायमा आएकी हुन् । महेन्द्रनगरमा बसेर उनले केही वर्ष पत्रकारिता पेशामा आवद्ध भएका थिइन् ।भण्डारीका श्रीमान तेज सिह ठकुरी पत्रकार हुन् । नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष ठकुरीले लामो समय कान्तिपुर टिभीमा काम गरेका थिए । हाल ठकुरीले समय सीमा अनलाइन सञ्चालन गरेका छन् ।

सदस्यका उम्मेदवार भण्डारीले सबै मतदातासित सहयोगका लागि आग्रह गरेकी छन् । उनले चुनावी प्रचारमा सामाजिक सञ्जाल प्रयोग गरेकी छन् । सामाजिक सञ्जालबाट उनले आफूलाई सहयोग गर्न सबैमा अपिल गरेकी छन् ।
पुस १९ गते संघको निर्वाचन हुँदैछ । भण्डारीको उम्मेदवारी दर्ता नं। ११ छ । उनले दर्ता नम्बर सहितको प्रचार सामाग्री सामाजिक सञ्जालमा राखेकी छन् ।

महेन्द्रनगर बजारमा ठूलो संख्या महिला व्यवसायी भए पनि संघमा प्रतिनिधित्व नहुने राम्रो नभएको सदस्यका उम्मेदवार भण्डारीले बताइन् । उनले संघको सदस्य भएर व्यापारीका समस्या समाधानका लागि सक्रिय भएर लाग्ने अठोट लिएकी छन् ।

‘आज हामीहरु संघमा आउँदा महिलाको संख्या न्यून देख्यौ, खै किन हो, यस्तो न्यून संख्या, बजारमा त व्यापार व्यवसाय गर्ने दिदी बहिनीहरु धेरै छौ’ उनले भनिन्,‘संघमा पनि आउनु पर्छ, केही गर्न पर्छ भनेर म सदस्य भएर आउन खोजेकी छु ।’

संघको सदस्य भएर व्यवसायी हकहित र संघको सुधारका लागि सधैं सक्रिय भएर लाग्ने उनी बताउँछन् ।

संघमा कोषाध्यक्ष र ७ सदस्यका लागि निर्वाचन हुन लागेको हो । संघका अध्यष सहित पाँच पदाधिकारी र संस्थागत सदस्य निर्विरोध भएका छन ।

कोषाध्यक्षमा प्रदिप पाल र सिद्धराज भट्ट उम्मेदवार छन् । सदस्यमा १४ जनाको उम्मेदवारी दर्ता भएकोमा विष्टले फिर्ता लिएपछि भण्डारी सहित १३ जना चुनावी मैदानमा छन् ।

सदस्यमा भण्डारी सहित लोकराज भट्ट, गोबिन्द भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय, देबदत्त जोशी, भोजराज अवस्थी, गंगा सिह धामी, कृष्ण राना, हेमराज भट्ट, सञ्जय कुमार भट्ट र जगदीश कुमार भट्ट चुनावी मैदानमा छन् ।

ताजा समाचार

सम्बन्धित समाचार