सशस्त्र प्रहरीको २५ औ रजत जयन्ती, पूर्व–पश्चिम झन्डा मार्च सुरु

Published by:

Published on:

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालले पश्चिम नेपालको गड्डाचौकीबाट समेत झन्डा मार्च सुरु गरेको छ। सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसरमा आइतबार पूर्व झापा र पश्चिम कञ्चनपुरबाट एकसाथ मार्च सुरु गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणका गणपति एसपी लोकेन्द्र भट्टले संगठनको स्थापना दिवसको अवसर पारेर कञ्चनपुरको गड्डाचौकीबाट समेत मार्च सुरु गरेको बताए। सुदूरपश्चिम प्रदेश बैद्यनाथ अत्तरिया बाहनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी दीपेन्द्र पालले २५ औँ सशस्त्र प्रहरी दिवस ०८२ को अवसरमा एकसाथ पूर्व–पश्चिम झन्डा मार्च सुरु गरिएको बताए।

२०५७ सालमा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमावर्ती क्षेत्रमा उपस्थिति बलियो भएसँगै सीमा सुरक्षा तथा चोरी तस्करी र राजस्व छलीजस्ता अपराध न्यूनीकरण भइरहेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सशस्त्र प्रहरीले आगामी दिनमा उच्च आत्मबलका साथ अघि बढ्नुपर्नेमा जोड दिए। भीमदत्त नगरपालिका उपप्रमुख नीलम लेखकले सशस्त्र प्रहरीको उपस्थितिले सीमा सुरक्षा, अपराध न्यूनीकरणदेखि नागरिक सुरक्षाको प्रत्याभूति भइरहेको बताए।

पश्चिम कञ्चनपुरको गड्डाचौकी र पूर्व झापाको काँकडभिट्टाबाट एकसाथ सुरु भएको मार्च नवलपुरमा पुगेर राजधानीकेन्द्रित हुने जनाएको छ। दुई दशकदेखि नेपाल–भारत कञ्चनपुरको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थितिसँगै राहत मिलेको स्थानीयको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार