महेन्द्रनगर माघ १९ । भीमदत्त नगरपालिका १० स्थित शान्ति सामुदायिक वन क्षेत्रमा भेटिएको शवको अझै पहिचान हुन सकेको छैन ।शान्ति वनको बंग्यादोल खोला नजिक खोल्सोमा शनिबार अर्ध नग्न अवस्थामा अन्दाजी २४÷२५ वर्षकी महिलाको शव भेटिएको थियो ।
ती महिलाको शवलाई प्रहरीले महाकाली प्रादेशिक अस्पतालमा ल्याएर राखेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार शवसंगै घट्नास्थलमा भेटिएका कपडा र जुत्ताको तस्बिर सामाजिक सञ्जालमा राखेर ती महिलालाई चिन्ने व्यक्तिलाई प्रहरी कार्यालय वा महाकाली अस्पतालमा जानकारी गराउन आग्रह गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयले सोमबारसम्म महिलाको पहिचान हुन नसकेको जानकारी दिएको छ । प्रहरी अहिले शव पहिचानका लागि सक्रिय भएर लागेको छ ।
‘उक्त मृत अवस्थामा रहेको बेवारीसे लाससंग फेला परेका जुत्ता कपडा सहित महाकाली प्रादेशिक अस्पतालको शव गृहमा रहेको हँुदा निज मृतक महिलाको घर परिवार तथा आफन्तजनहरुले चिन्नु भएमा महाकाली प्रादेशिक अस्पतालमा जानकारी गराउन हुन अनुरोध’ जिल्ला प्रहरी कार्यालय गरेको भनेको छ
वन क्षेत्रमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय र जिमुवा प्रहरी चौकीको टोलीले घट्नास्थल पुगेर मुचुल्का गरी शवलाई अस्पतालमा ल्याएको हो ।
प्रहरीका अनुसार शव अर्धनग्न अवस्थाको शव सड्न लागेको अवस्थामा भेटिएको छ । ती महिलाको अनुहार सहित शरिरका केही भाग सडेका छन् । ढुङ्गाको खोल्सोभित्र जकेट र जुत्ता लगायतका कपडा सिरान बनाएर सतुेको अवस्थामा शव भेटिएको छ ।
शव भेटिएको स्थान कालिताल झरना जाने बाटो नजिक भएको ती महिला घुम्न आएको हुन सक्ने आशंका गरिएको छ । धारिलो हतियार प्रहार गरिएका घाउ शरिरमा भएकाले हत्या गरिएको आशंका छ ।
प्रहरीले महिलाको हत्या भए नभएकोबारे अनुसन्धान गरि थालेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले बताए ।
‘शव भेटिएपछि घट्नास्थल मुचुल्का गरी शव अस्पताल ल्याएका छौ, त्यो हत्या गरिएको हो कि अरु कारणले हो भनेर हेर्दैछौ’ उनले भने ।
