महेन्द्रनगर फागुन ६ । स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कनमा भीमदत्त नगरपालिका कञ्चनपुर जिल्लामा उत्कृष्ट भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको आधिकारिक कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार जिल्लाभरिका ९ वटा पालिकामध्ये भीमदत्तले शीर्ष स्थान हासिल गरेको हो ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार भीमदत्त नगरपालिकाले ६६।६३ अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ट कार्यसम्पादन गर्ने पालिका बनेको छ ।
विभिन्न प्रशासनिक, वित्तीय, सेवा प्रवाह, योजना कार्यान्वयन, पारदर्शिता र सुशासनसँग सम्बन्धित १७ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा नगरपालिकाले उल्लेखनीय प्रगति देखाएको जनाइएको छ ।
यसै मूल्याङ्कनमा बेदकोट नगरपालिका ६५।६७ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका ६१।११ अंकका साथ तेस्रो, बेलौरी नगरपालिका ५४।४६ अंकसहित चौथो र लालझाडी गाउँपालिका ५१।९८ अंकसहित पाँचौँ स्थानमा रहेका छन्।
त्यसैगरी बेलडाँडी गाउँपालिका ४७।४६ अंकसहित छैटौँ, दोधाराचाँदनी नगरपालिका ४७।३४ अंकसहित सातौँ, पुनर्वास नगरपालिका ४७।३४ अंकसहित आठौँ र कृष्णपुर नगरपालिका ४२।७० अंकका साथ नवौँ स्थानमा सूचीकृत भएका छन् ।
आयोगले हरेक वर्ष स्थानीय तहहरूको कार्यसम्पादन, वित्तीय अनुशासन, सेवा वितरणको प्रभावकारिता, सामाजिक क्षेत्रका उपलब्धि, पूर्वाधार विकास, योजना कार्यान्वयनको अवस्था र संस्थागत क्षमता लगायतका सूचकहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।
सोही मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि वित्तीय हस्तान्तरण र बजेट विनियोजनमा समेत प्रभाव पर्ने जनाइएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले मूल्याङ्कनबाट प्राप्त नतिजालाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा अझ सुधार र विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा नगरपालिका केन्द्रित रहने बताए ।
प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले प्राप्त उपलब्धि योजनाबद्ध कार्यशैली, सूक्ष्म अनुगमन र समयमै कार्यान्वयनको परिणाम भएको बताए ।
उनका अनुसार नगरपालिकाले हरेक योजना र कार्यक्रमलाई लक्ष्य अनुसार अघि बढाउँदै नतिजामुखी काम गर्ने पद्धति अवलम्बन गरेको छ ।
