स्वास्थ्य सेवामा नयाँ इतिहास — मन्त्र अस्पतालमा फोक्सो परीक्षणको सुरुवात

Published by:

Published on:


भवानीदत्त भट्ट कञ्चनपुर फागुन १८ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३८ वर्षीय वीरेन्द्र मल्ल एक वर्षदेखि समय–समयमा लाग्ने सुख्खा खोकीको समस्याले ग्रसित हुनुहुन्थ्यो । फोक्सोमा देखिएको समस्याको परीक्षण गराउन उहाँ कैलालीस्थित सेती प्रादेशिक अस्पताल पुग्नुभयो । तर त्यहाँ आवश्यक उपकरण नहुँदा उहाँलाई महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा जान सुझाव दिइयो। चिकित्सकको सल्लाहअनुसार मन्त्र अस्पताल पुग्नुभएका उहाँले शनिबार फोक्सो परीक्षण गराउनुभएको बताउनुभयो।

“कैलालीका अधिकांश अस्पतालमा फोक्सो परीक्षणका लागि सोधपुछ गरेको थिएँ,” उहाँले भन्नुभयो, “सेती प्रादेशिक अस्पतालका चिकित्सकको सुझावपछि महेन्द्रनगरमा परीक्षण गराएको छु।” ब्रोंकोस्कोपी गराउन करिब १६ हजार रुपैयाँ र औषधिमा झन्डै ३५ हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो।

त्यसैगरी बझाङकी ५६ वर्षीया एक महिलाले पनि शनिबार मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी गराउनुभयो। तीन दशकदेखि दमको औषधि सेवन गर्दै आएकी उहाँले फोक्सोमा थप समस्या देखिएपछि परीक्षणका लागि महेन्द्रनगर आएको बताउनुभयो। चिकित्सकले सफलतापूर्वक परीक्षण गरे पनि रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। ब्रोंकोस्कोपी गराउन बुटवल वा काठमाडौँ जानुपर्दा अत्यधिक खर्च लाग्ने भएकाले सुदूरपश्चिममै परीक्षण सुरु भएपछि सहज भएको उहाँको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सफलतापूर्वक यस्तो फोक्सो परीक्षण सुरु गरिएको हो। शनिबार कञ्चनपुरको महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा श्वासनली हेर्ने उपकरण ९ब्रोंकोस्कोप० को सहायताले पहिलो पटक चार जनामा फोक्सो परीक्षण गरिएको थियो।

मल्लसहित चार जनामा ब्रोंकोस्कोपी गरिएको मन्त्र अस्पतालका सञ्चालक डा। गोविन्द रोकायाले बताउनुभयो। चिकित्सक अभावका कारण चार वर्षअघि खरिद गरिएको ब्रोंकोस्कोप प्रयोगमा ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो। विसं २०७८ सालमा झन्डै ५० लाख रुपैयाँ लागतमा उक्त उपकरण खरिद गरिएको थियो।

“उपकरण खरिद गरिए पनि विशेषज्ञ चिकित्सक नहुँदा फोक्सोसम्बन्धी परीक्षण गर्न सकिएको थिएन,” उहाँले भन्नुभयो, “केही दिनअघि फोक्सो रोग विशेषज्ञसँग समन्वय भएपछि उपकरण सञ्चालनमा ल्याएका हौँ।”

सुदूरपश्चिमका नौवटै जिल्लाका सरकारी तथा निजी अस्पतालमा फोक्सोसम्बन्धी रोग परीक्षणका लागि उपकरण अभाव हुँदा बिरामीलाई बुटवल, काठमाडौँलगायत अन्य ठाउँ पठाउनुपर्ने बाध्यता रहेको फोक्सो रोग विशेषज्ञ डा। नारायण जोशीले बताउनुभयो। उहाँका अनुसार मन्त्र अस्पतालमा उपकरण सञ्चालनमा आएपछि फोक्सो परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ।

मन्त्र अस्पतालको आग्रहमा शनिबारदेखि फुर्सदको समयमा महेन्द्रनगर पुगेर ब्रोंकोस्कोपी सेवा सुरु गरिएको उहाँले बताउनुभयो। ब्रोंकोस्कोपीपछि क्यान्सर बाहेकका अधिकांश फोक्सो रोगको उपचार सुदूरपश्चिममै सम्भव हुने उहाँको भनाइ छ।

ब्रोंकोस्कोपीको सहायताले चिकित्सकले श्वासनली र फोक्सोको भित्री भागको जाँच गर्ने गर्दछन्। यसका लागि क्यामेरा जडित पातलो लचिलो नली ९ब्रोंकोस्कोप० मुख वा नाकबाट फोक्सोसम्म पुर्‍याइन्छ। यस माध्यमबाट फोक्सोको क्यान्सर, टीबी, निमोनियाजस्ता संक्रमण तथा रगत बग्ने कारण पत्ता लगाउन सकिन्छ।

लगातार खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने वा रगत आउने अवस्थाका बिरामीमा ब्रोंकोस्कोपी उपयोगी हुने चिकित्सक बताउँछन्। फोक्सोमा देखिएका ट्युमर वा शङ्कास्पद गाँठाबाट नमूना सङ्कलन गर्न तथा निमोनिया वा टीबीजस्ता सङ्क्रमणको जाँच गर्न पनि यो विधि प्रयोग गरिन्छ। गोरखापत्र अनलाइन

ताजा समाचार

सम्बन्धित समाचार