विरेन्द्र बाग महेन्द्रनगर फागुन २८ ।कञ्चनपुरमा गरिएको लागूऔषध परीक्षणका क्रममा १८ जनामध्ये ३ जनामा लागूऔषध सेवन गरेको पुष्टि भएको छ। शंकास्पद अवस्थामा सवारी साधन चलाइरहेका तथा असामान्य गतिविधि देखिएका व्यक्तिहरूमाथि गरिएको परीक्षणमा उनीहरू लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्।
नियमित ट्राफिक चेकजाँचका क्रममा ट्राफिक प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएर परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजिटिभ आएको ट्राफिक प्रमुख बलेन्द्र नाथ ले जानकारी दिनुभयो। परीक्षणमा पोजिटिभ देखिएका ती व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाइएको उहाँले बताउनुभयो।
लागूऔषध सेवन गरी सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम अत्यन्त बढ्ने भएकाले ट्राफिक प्रहरीले पछिल्लो समय निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी चालकहरूलाई सचेत गराउन तथा दुर्घटना न्यूनीकरण गर्न यस्ता परीक्षण अभियानलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिँदै आएको ट्राफिक प्रहरीको भनाइ छ।
ट्राफिक प्रमुख नाथका अनुसार सुरक्षित यातायात व्यवस्था कायम राख्न, लागूऔषध दुरुपयोग नियन्त्रण गर्न तथा सवारी दुर्घटना घटाउन यस्ता अभियान निरन्तर सञ्चालन गरिनेछ। प्रहरीले सवारी चालक तथा सर्वसाधारणलाई लागूऔषध जस्ता अवैध पदार्थको प्रयोगबाट टाढा रहन र जिम्मेवार व्यवहार अपनाउन आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध कानुनी कारबाही कडाइका साथ अघि बढाइने चेतावनी समेत दिएको छ।
