विवाह भएको १४ दिनमै कञ्चनपुरकी विन्दु धामी मृत फेला

Published by:

Published on:

महेन्द्रनगर फगुन २९ । वैवाहिक जीवनमा बाँधिएको दुई साता अर्थात् १४ दिनमा कञ्चनपुरकी एक महिला मृत फेला परेकी छिन् । शुक्लाफाँटा नगरपालिका– ७, कालापानीकी २२ वर्षीया विन्दु धामी आफ्नै कोठामा मृत फेला परेकी हुन् ।

१४ फागुन ०८२ मा कृष्णपुर नगरपालिका– ७, मटैयाकटानकी २२ वर्षीया विन्दु धामीको शुक्लाफाँटा नगरपालिका– ७, कालापानीका २९ वर्षीया भीम धामीसँग मागीविवाह भएको थियो । विवाह भएको १४ दिनमै विन्दु आफ्नै कोठामा २७ फागुनमा मृत भेटिइन् ।

मृतक विन्दुकी हजुरआमा तारा धामीले धुमधामका साथ विवाहको खुसी साट्न नपाउँदै नातिनीको शंस्कास्पद मृत्यु भएको बताइन् ।

‘विवाह मागी नै हो, हामीले पनि धुमधामका साथ विवाह गरिदियौँ,’ उनले भनिन्, ‘यो घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, दोषीले उन्मुक्ति पाउनुहुँदैन, निर्दोष फस्नुहुँदैन ।’ विन्दु कक्षा १२ अध्ययनरत रहेकै अवस्थामा ब्युटिपार्लर सिकेर बसेकी थिइन् । कुटुम्ब माग्न आएपछि धार्मिक परम्पराअनुरूप विवाह भएको बताउँदै विन्दुकै श्रीमानमाथि शंका भएको माइती पक्षको दाबी छ ।

मृतक विन्दुका हजुरबाबु प्रेमसिंह धामीले विवाह भएको छोटो समयमै मृत फेला घटना रहस्यमयी भएको बताए । ‘मृतक नातिनीको योनीमा रगत देखिएकाले हामीलाई शंका लागेको छ,’ उनले भने, ‘यो त निकै शंकास्पद छ, विवाह पनि झुक्याएर गरेको देखिन्छ ।’ इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतले विन्दु धामी मृत्यु प्रकरण छानबिन भइरहेको बताए । ‘पोस्टमार्टम भयो, रिपोर्ट आइतबारसम्म आइपुग्छ, शव पनि हामीले आफन्तलाई बुझाइसकेका छौँ,’ उनले भने, ‘घटनाबारे सूक्ष्म छानबिन भइरहेको छ ।’

कञ्चनपुरका सामाजिक अगुवा रामदत्त भट्टले सँगै बाँच्नेमर्ने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएकी विन्दुको यति छोटो समयमै प्राण त्यागमा ठुलो पीडा लुकेको हुन सक्ने भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कारबाही हुनुपर्ने बताए । ‘अहिले यति ठुलो सामाजिक फौजदारी यो अपराध लुकाए, भोलि समाजमा अरू पनि महिला सिकार हुन्छन्,’ उनले भने, ‘यस घटनामा प्रहरी कहीँकतै पनि चुक्नुहुँदैन, यो त एक व्यक्तिको घटना होइन, सिंगो समाजलाई नै प्रतिनिधित्व गर्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार