भक्तपुर चैत्र १३ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइई को तयारी पूरा भएको जनाएको छ। बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुने जनाएको हो।
चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
उनका अनुसार तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन्। परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ। यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुने उनले जानकारी दिए। उनका अनुसार जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्।
सबैभन्दा बढी विद्यार्थी बागमती, कम कर्णाली
यसवर्ष कोशीबाट ८२ हजार ४८७, मधेसबाट ९० हजार २४३, बागमतीबाट एक लाख नौ हजार ५१३, गण्डकीबाट ४३ हजार ९७२, लुम्बिनीबाट ९१ हजार ८०२, कर्णालीबाट ३९ हजार ७६९ र सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
बोर्डले परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।
यस्तो छ परीक्षा तालिका
चैत १९ गते बिहान ८ः०० बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।
परीक्षा अनुगमनमा रोक
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको उनले बताए।
पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यसदिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्नसक्ने व्यवस्था गरिएको उल्लेख गरे। परीक्षा हलभित्र दृश्य छायाङ्कन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ।
जिल्लाजिल्लामा पुग्यो प्रश्नपत्र
परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि सबै जिल्लामा प्रश्नपत्र पुर्याएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ सम्पन्न गरिएको प्रश्नपत्र ढुवानी गरी सुरक्षा नियकाको सहयोगमा सबै जिल्लामा पुर्याइसकिएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।
सातै प्रदेशमा फरक प्रश्नपत्र छपाइ गरिएको जनाउँदै उनले परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेशअनुसार फरकफरक प्रश्नपत्र छापिएको जानकारी दिए। उनका अनुसार यदि कतै प्रश्नपत्र बाहिरियो भने सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्द गरी पुनःप्रश्नपत्र छपाइ गर्न सकिने व्यवस्था गरिएको छ।
यस्तो छ सुरक्षा व्यवस्था
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
यस्तो छ सुरक्षा व्यवस्था
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ । रासस
