वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन

Published by:

Published on:

२०८२ चैत्र ३० सर्लाही । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार सिंहले उक्त पुलको स्थलगत अवलोकन गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ ।

स्थलगत निरीक्षणका क्रममा उहाँले पुल निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित ठेकेदार कम्पनीलाई कडा चेतावनी समेत दिनुभयो । अब कुनै पनि बहानामा काममा ढिलाइ नगरी तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्नुपर्ने उहाँको स्पष्ट निर्देशन रहेको बताइएको छ ।

सर्लाही ४ का सांसद सिंहले निर्माण कार्यमा कुनै किसिमको अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित सरकारी निकाय, स्थानीय सरोकारवाला पक्ष तथा समुदायलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले सरकारको स्पष्ट प्रतिबद्धताअनुसार पुललाई छिटोभन्दा छिटो सम्पन्न गरी रौतहट र सर्लाही जिल्लाबीच सशक्त र सहज आवतजावत सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । यसैबीच, सम्माननीय प्रधानमन्त्रीबाट समेत यस परियोजनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक निर्देशन दिइएको जनाइएको छ। प्रधानमन्त्रीस्तरबाट समेत प्राथमिकता पाएपछि परियोजना अब प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि अधुरो र अलपत्र अवस्थामा रहेको यो पुल अब छिट्टै पूर्णता पाउनेमा स्थानीयवासी आशावादी देखिएका छन् । पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाबीचको आवतजावत सहज हुनुका साथै व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधिमा समेत उल्लेखनीय सहजता आउने विश्वास गरिएको छ । स्थानीय बासिन्दाले लामो समयदेखिको प्रतीक्षा अब अन्त्यतिर पुगेको महसुस गर्दै निर्माण कार्यलाई तीव्रता दिन सरकार र निर्माण कम्पनी दुवै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार