महेन्द्रनगर । कैलालीको गेटामा चिकित्सा शिक्षाको अध्यापन र ६ सय शय्याको अस्पताल सञ्चालनका लागि ६ अर्ब बढीका संरचना तयार छन्। तर, त्यहाँ ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ। मेडिकल शिक्षाको अध्यापन हुने कहिलेबाट निश्चित छैन।
सुरुमा मेडिकल कलेज सञ्चालन गर्ने भनिए पनि पछि प्रतिष्ठानको संरचनामा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो। तर पछि प्रतिष्ठान पनि बेठीक हुने भन्दै मेडिकल विश्वविद्यालय स्थापनाको माग चर्को गरी उठेको थियो । ०७९ माघ २९ मा मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। २०८० असोज १९ मा संसद्मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाले २०८० माघ १९ मा पारित गरेको थियो। कानुन बन्ने प्रक्रिया चलिरहेकै बेला प्रदेश सरकारका तर्फबाट भने छुट्टै पहल थालिएको छ।
गेटामा तत्काल चिकित्सा शिक्षाको पठनपाठन गर्नका लागि सुदूरपश्चिमका अस्पताल संघ सरकारलाई हस्तान्तरण गर्न प्रदेश सरकार तयार भएको हो । सेती र महाकाली प्रादेशिक अस्पतालहरू हस्तान्तरण गर्न तयार रहेको प्रदेश सरकारले जनाएको छ। उक्त सहमति सहितको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार नै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाइसकेको छ। सेती र महाकाली अस्पताललाई गेटामा गाभेर मेडिकल शिक्षा अध्यापनको तयारी भएको हो।
चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा तीन सय शय्याको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्छ । सेती प्रादेशिक अस्पताललाई ०७९ साउनमा प्रदेश सरकारले दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन हुन सकेको छैन। प्रादेशिक अस्पताललाई सरकारको अनुमति ५० शय्याका लागि मात्र भए पनि २ सय ४२ शय्या सञ्चालनमा छन्।