कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा

Published by:

Published on:

मोहन विष्ट, २०८३ असार २४ बुधबारमहेन्द्रनगर । कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमबिच कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ‘स्थानीय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ घोषणा गरिएको जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख नरेन्द्र रावलले यसअघि जिल्लाका नौवटै पालिकाहरूमा पूर्ण खोपयुक्त घोषणा गरेको बताए। उनका अनुसार बालबालिकाले पाउनुपर्नेदेखि विगतका छुट सबै बालबालिकाले खोप लगाइसकेका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले एक वर्षमुनि र सोभन्दा बढी उमेरका बालबालिकालाई दिनुपर्ने सबै प्रकारका खोप लगाइएको बताए । उनका अनुसार जिल्लाभरि १६८ खोप केन्द्रमार्फत ० देखि १५ महिनाभित्रका आठ हजार ६३७, बिसिजी, पेन्टा, ओपिभी पिसिभी रोटा, एफआइभिपी दारुला, रुबेलाका छुट १८ बालबालिकालाई पनि खोप लगाइएको छ ।

० देखि ११ महिनाका सात हजार ९८८, ११ देखि २३ महिनाका सात हजार ८७७, नौ हजार ४२७ गर्भवती महिला र २४ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाइसकेको छ । कार्यक्रममा जिल्लाका विभिन्न पालिकामा कार्यरत खोप सहजकर्ता स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा बेलडाँडीकी लक्ष्मी ठकुरी, कृष्णपुरकी विष्ना जोशी, शुक्लाफाँटाकी कुमारी महता, बेदकोटकी दिलेश्वरी अवस्थी, भीमदत्तकी निर्मला जोशी र पुष्पा अवस्थी, दोधाराचाँदनीकी मीना विष्ट, पुनर्वासकी विमला जोशी, लालझाडीकी रुक्मणी चौधरी, महाकाली प्रादेशिक अस्पतालकी हेमन शाहलाई सम्मान गरिएको छ ।

जिल्ला खोप सुनिश्चितता समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जनस्वास्थ्यका लागि सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाइसकेकाले थप स्वास्थ्यमा सुधार हुने अपेक्षा राखे । कार्यक्रममा जिल्लाभरिका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार